कोशी अस्पतालले मलाई ‘रोग थपिदियो’…

गलत रिपोर्टले दिएको पीडा

सुजता लिम्बू

शनिबार, माघ ०३, २०८२

निक्कै दिनदेखि म बिरामी थिएँ । महिलाको समस्या अनेक तल्लो पेट र ढाड दुखाइले दैनिकी नै अस्तव्यस्त बनाएको थियो । यो समस्या नयाँ थिएन, धेरै ठाउँमा देखाएँ, तर खासै निको भएन । अन्तिम उपाय ठानेर पुस ३० गते दिदीसँग उपचारका लागि कोशी अस्पताल पुगेँ ।

गाइनो विशेषज्ञ डा. तृप्ति यादवलाई देखाएँ । उहाँले युरिन, भिडियो एक्स–रे, ढाडको एक्स–रे र पिसाब परीक्षण गर्न भन्नुभयो । सबै जाँच गराएँ । तर, भनिएको समयमा युरिन (पिसाब)रिपोर्ट आएन । त्यसपछि दिदीबहिनी घर फर्किऊँ मलाई पेट दुखाई कम भएकै थिएन । पिसाबको रिपोर्ट आएपछि मात्रै औषधि चलाउने भनेपछि चुपचाप सहनुको विकल्प रहेन ।

भोलि पल्ट अर्थात् माघ १ गते पिसाबको रिपोर्ट आयो । रिपोर्ट हेरेर डाक्टरले सोध्नुभयो ‘पिसाबमा सुगर कसरी आयो ?’ त्यो प्रश्न सँगै म अचम्ममा परेँ । मलाई कहिल्यै मधुमेह भएको थिएन । त्यसपछि रगत परीक्षण लेखिदिनुभयो । बिल काउन्टरमा पुगेँ, त्यहाँको लामो लाइन, ढिलो समय, फेरि भोलि आउनू भन्ने जवाफ पाएँ ।

यद्यपि रगतको रिपोर्ट त्यही दिन आयो । तर, माघे सङ्क्रान्ति परेकाले डाक्टरहरू र कर्मचारीहरू हाफ बिदामा निस्किसकेका रहेछन् । रिपोर्ट हातमा लिएर म अस्पतालको गल्लीमा उभिइरहेँ, न डाक्टर भेटिन्छ, न जवाफ दिने कोही ।

भोलिपल्ट रिपोर्ट देखाउँदा डा. यादवले मधुमेह विशेषज्ञलाई देखाउन सुझाव दिनुभयो । यहाँबाट मेरो पीडाको वास्तविक यात्रा सुरु भयो ।

मधुमेहका डाक्टर बिहीबार हुनुहुन्थ्यो, तर त्यो दिन माघे सङ्क्रान्तिको हाफमा निस्किनुभएछ । शुक्रवार गएँ, फेरि भेटिएन । यसरी तीन दिनसम्म अस्पतालमा रिपोर्ट बोक्दै पेसी लागेको मान्छेजस्तै धाइरहेँ । शरीर आधा गलिसकेको थियो । मन, मस्तिष्क सही ठाउँमा छैन जस्तो महसुस भइरहेकै थियो ।

मेरो नौ नारी गलेको थियो । मनमा एउटै प्रश्नले डेरा जमाएर बसेको थियो, ‘यही उमेरमा मधुमेह ?’ मन काँप्यो । प्रेसर नै डाउन भयो । त्यत्ति मात्र होइन, प्रेसर हाई ले थकित दिदी, भेना मेरो नजिकका आफ्नो सबै डराए । हाँसो हराए जस्तै भएको थियो । म आफैँलाई विश्वास लागेन, ‘यो रिपोर्ट मेरो हुनै सक्दैन ।’ तर, रोगसँग खेलबाडको कुरा भएन, मन झन् त्रसित भयो । भोक, निद्रा हरायो ।

रगतको रिपोर्ट बोकेर शुक्रवार बिहान १० बजे अस्पताल पुगे दिदिसगै । लामो पालो छिचोल्दै स्त्रीरोग विशेषज्ञ डा. अमोद गुरुङलाई भेटेँ । रिपोर्ट हेर्दै भन्नुभयो, ‘पिसाब र रगतको रिपोर्टमध्ये एउटा गलत छ ।’ पेनकिलर लेखिदिनुभयो र दुई हप्ता पछि आउनु भन्नुभयो ।

तर मलाई चित्त बुझेन । रोग संवेदनशील थियो । तर, कसैले रिपोर्ट फेरि जाँच गर भन्ने आवश्यक सुझावसमेत दिएन । बिहान एउटा डाक्टर, बेलुका अर्को । बिरामीभन्दा ड्युटी तालिका महत्त्वपूर्ण देखियो यहाँ । यसले देखिन्छ सरकारी अस्पताल बिरामीका लागि कति संवेदनशील छ ? भन्ने ।

डाक्टरहरू आफ्नै समयमा उठ्छन्,। तर, बिरामीको पीडा घडी हेरेर आउँदैन । समय सकियो भन्दै कक्ष बन्द हुँदा, भित्र दबिएका प्रश्न लिएर बिरामी घर फर्किन्छ ।

अस्पताल देखि फर्केपछि मन बेचैन भयो । रुममा बस्न मनै लागेन यतिकै निस्किए दिदी सँग गफ गरेर घरछेउको निजी मेडिकलमा पुगेँ । रिपोर्ट देखाएँ । उहाँले हेर्ने बित्तिकै भन्नुभयो, ‘पिसाबको रिपोर्ट गलत छ ।’

‘एक पटक पिसाब जाँच गर्नुहोस्’ भन्नुभयो । र फेरि जाँच गराएँ । त्यसपछि सत्य बाहिर आयो, ‘मेरो पिसाबमा सुगर थिएन नै । मलाई युरिन इन्फेक्सन रहेछ ।’ यही सङ्क्रमणका कारण म यति दिनदेखि पेट दुखाई सहँदै आएकी रहेछु ।

तीन दिनसम्म जुन मानसिक यातना भोगेँ, जुन डर र तनावले मा मात्रै होइन, आफन्तले तनाव झेल्नु पर्‍यो यसको हिसाब त नहोला । तर, त्यो सबै अस्पतालको गलत रिपोर्ट र गैर जिम्मेवार प्रणालीको परिणाम थियो ।

सरकारको तलब–भत्ता खाने कर्मचारीले किन सही काम गर्न सक्दैनन् ? मानिसको स्वास्थ्यसँग खेलबाड हुँदा पनि किन कुनै जबाफदेहिता हुँदैन ?

प्रदेश सरकार कहाँ छ ? सङ्घीय सरकार किन मौन छ ? स्थानीय सरकार किन अन्धो बनेको छ ? यो प्रश्न उठाउनुको कारण म पो भोगाइ लेख्न सक्छु, म सँग रिपोर्ट साटिएको ती निर्दोष बिरामी को अवस्था के होला, त्यसैको लागि पनि यो प्रश्न सरकारलाई हो ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भइरहँदा पनि किन कुनै कडा कदम चालिँदैन ? किन हामी बाध्य भएर निजी अस्पताल धाउनुपर्छ ? यदि सरकारी अस्पताल भरपर्दो हुन्थ्यो भने, गरिब नागरिक निजी क्लिनिकको ढोका ढकढक्याउनुपर्ने थिएन ।

गलत रिपोर्टका आधारमा कति मानिसले नचाहिने औषधि खाइरहेका होलान् ? कसको जीवन जोखिममा परिरहेको होला ? के नागरिकको ज्यान यति सस्तो हो ?

यो म एक जनाले मात्रै भोगेको पीडा होइन, राज्यको स्वास्थ्य प्रणालीको ऐना पनि हो । यदि नसच्चिने हो भने, सरकारी अस्पताल उपचारको होइन, त्रासको केन्द्र बन्दै जानेछ । र, जब अस्पतालले नै नागरिकलाई डराउन बाध्य बनाउन थाल्छ, त्यो राज्य गम्भीर रूपमा असफल भइसकेको सङ्केत हो ।
-(लेखक लिम्बू आफैँ पीडित हुन्, उनलाई अस्पतालले दिएको गलत रिपोर्ट सुरक्षित छ)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा