काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहँदै आएकी छन्।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेपछि उनलाई जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो।
सोचेअनुसार उपचार प्रक्रिया अघि बढ्न नसक्दा शल्यक्रिया अझै हुन सकेको छैन।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचारको सम्पूर्ण व्यवस्थापन र सहयोग पाएकी साम्बाले समयमै उपचारपछि मैदानमा पुनरागमन गर्न सफल भएकी थिइन्। तर यसपटक एन्फाबाट वाचा गरिएको सहयोग प्राप्त नभएको उनले सार्वजनिक रूपमा जानकारी गराएकी छन्।
चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिए पनि एन्फाले आफ्नो तर्फबाट प्रक्रिया अघि बढाउने बताएको थियो। तर प्रक्रिया अघि नबढ्दा र पटक–पटक सम्पर्क गर्न कठिन भएपछि अवस्था जटिल बनेको साम्बाको भनाइ छ।
अघिल्लो साता एन्फा अध्यक्षले एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न सुझाएको उनले उल्लेख गरेकी छन्।
यसले गर्दा पहिल्यै सुरु भएको प्रक्रिया रोकिन पुग्यो र झन्डै दुई महिनापछि मात्रै पुनः शल्यक्रिया मितिका लागि प्रयास गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाएको छ। तर चोटको गम्भीरता र यसअघि कतारको अस्पेटार अस्पतालमा गरिएको उच्चस्तरीय उपचारका कारण पुनः त्यहीँ उपचार गराउने चाहना साम्बाले व्यक्त गरेकी छन्।
क्लबले विमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया तथा ७–८ महिना लामो रिह्याबका लागि त्यो रकम अपुग हुने भएकाले उनले आम समर्थकहरूसँग सहयोगको अपिल गरेकी छन्। प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताइएको छ।
सरकारसमक्ष पनि उपचार सहयोगका लागि पहल भइरहे पनि प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको र शल्यक्रिया नगरी बस्न नसक्ने अवस्थामा पुगेको साम्बाको भनाइ छ।
आफ्नो करियरभर निरन्तर संघर्ष गर्दै आएकी साम्बाले यसलाई जीवनकै सबैभन्दा कठिन लडाइँको संज्ञा दिएकी छन्।
“थाकेको हो, हारेको छैन,” भन्दै उनले पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने दृढ विश्वास व्यक्त गरेकी छन्। इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेले पनि सधैं नेपालकै नाम बोकेको महसुस भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि देशका लागि खेल्न आफू तत्पर रहेको बताएकी छन्।
नेपालमा रहनुहुनेले QR कोड वा बैंकमार्फत र विदेशमा रहनुहुनेले Givealittle प्लेटफर्ममार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
विदेशबाट सहयोगका लागि लिंक:
👉 https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra?fbclid=IwdGRjcAQJBhJjbGNrBAkF6mV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHqFFtLtVRcUOWXYuKYQKPp3piPh4T-_c56ZTUZa9AVdrzcgLmf14dKkLPu3Q_aem_fd51rSzSfjoe6WqnjHKBXg
साम्बाले उपचार सफल भएपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्ने विश्वाससहित सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन्।
