विराटनगर । सामाजिक सञ्जाल र फेसबुक लाइभमा देखिएको सिंहदरबारभित्रको नवनिर्मित संसद् भवनको हलमा एउटा बेग्लै चमक थियो । नयाँ अनुहार, नयाँ आशा र विविध सांस्कृतिक पहिचानसहित देशका जनप्रतिनिधिहरू शपथका लागि लामबद्ध थिए । तर, यो भीडमा सबैभन्दा बढी कसैको चर्चा भयो भने ती थिए, बालेन्द्र शाह (बालेन)।
भावी प्रधानमन्त्रीका रूपमा समेत हेरिएका बालेनले आफ्नो कोटको देब्रेतिर सजाएको एउटा सानो प्रतीक ‘सिलाम साक्मा’ मार्फत सबैको ध्यान खिचे । लेखक तथा सांस्कृतिक अभियन्ता अमित थेवेका अनुसार, सिलाम साक्मा केवल एउटा सजावट मात्र होइन, यो त किराँत लिम्बु सभ्यताको मुन्धुमी दर्शन हो । बालेनले सांसदको शपथ ग्रहणका क्रममा छातीमा सिलाम साक्मा लगाउनुलाई सकारात्मक मान्दै थेवे भन्छन्, “यो आदिवासी संस्कृतिको प्रवर्द्धन र संस्कार दुवै हो ।”
उनका अनुसार याक्थुङ (लिम्बु) भाषामा ‘सिलाम साक्मा’ शब्दले ‘मृत्युको बाटो छेक्ने’ अर्थ दिन्छ । ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ रोक्नु हुन्छ ।
यसर्थ, यसलाई मृत्युको बाटो रोक्ने कवचका रूपमा लिइन्छ । यो प्रतीक प्रसिद्ध ‘तङसिङ तक्मा’ अनुष्ठानसँग जोडिएको उनको भनाइ छ ।
“पहिले यो धातु र छालाबाट बन्ने गर्थ्यो र युद्धमा हतियारको प्रहार रोक्न प्रयोग हुन्थ्यो । पछि यसलाई तान्त्रिक विधिद्वारा पूजामा राख्न थालियो,” थेवे थप्छन्, “नराम्रो कुरा रोक्नका लागि बाँस र बेतबाट बनाइने यो प्रतीक पछिल्लो समय धागो र बाँसको प्रयोग गरी बनाउन थालिएको छ । तङसिङमा सहभागीहरूलाई घरमा राख्नका लागि सिलाम साक्मा दिने गरिन्छ, जुन एक महत्त्वपूर्ण परम्पराको निरन्तरता हो ।”
गैर-याक्थुङ समुदायका व्यक्तिले सिलाम साक्मा लगाउनु संस्कृतिको विस्तार र फैलावट भएको उनको तर्क छ । यसले सांस्कृतिक राष्ट्रियता मार्फत देश-विदेशमा रहेका नेपालीलाई जोडेको आभास दिलाउँछ ।
परापूर्व कालमा युद्धको मैदानमा ‘कवच’ का रूपमा प्रयोग हुने यो वस्तु समयक्रममा आध्यात्मिक सुरक्षाको प्रतीक बन्यो । नेपाली राजनीतिमा अब मृत्यु र विनाशको होइन, ‘जीवन र सिर्जनाको बाटो खुल्नुपर्छ’ भन्ने भाव यसले बोकेको हुन सक्ने सामाजिक सञ्जाल (विशेष लिम्बू समुदाय) प्रयोगकर्ताहरूको तर्क छ।
कवि विवश बेनामले राई-लिम्बु समुदायका पर्याप्त सांसद नभएकोमा आफ्नो गुनासो रहे पनि बालेनले सिलाम साक्मा लगाएर मन जितेको प्रतिक्रिया दिएका छन् । कहिलेकाहीँ सत्ताको गणितभन्दा सांस्कृतिक सम्मानको महत्त्व बढी हुने उनको बुझाइ छ ।
त्यस्तै, अधिवक्ता सागर चेम्जोङ यसलाई ‘उच्च तहको नेतृत्वबाट गरिएको मौलिक संस्कृतिको ब्रान्डिङ’ का रूपमा व्याख्या गर्छन् । उनी भन्छन्, “जब कुनै प्रभावशाली नेताले अर्को समुदायको प्रतीकलाई आत्मसात् गर्छ, त्यसले जातीय संकीर्णतालाई तोडेर ‘सांस्कृतिक राष्ट्रियता’ लाई बलियो बनाउँछ ।”
बालेनले सिलाम साक्मा लगाएको दृश्य जति सुखद छ, नेता जेन्टल लावतीको टिप्पणीले त्यति नै ठूलो चुनौती पनि थपिदिएको छ । लावती भन्छन्, “यो केवल पोसाकमा मात्र सीमित नहोस्, व्यवहारमा पनि लागू होस् ।”
सिलाम साक्माले जसरी अकाल मृत्यु र अनिष्टलाई छेक्छ, नेतृत्वले पनि त्यसरी नै समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र विभेदजस्ता सामाजिक मृत्यु का बाटाहरू छेक्न सक्नुपर्छ भन्ने उनको तर्क छ ।
