आँखा शरीरको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण अंग हो । बदलिँदो जीवनशैली, बढ्दो स्क्रिन टाइम (मोबाइल, कम्प्युटरको प्रयोग) र स्वास्थ्यप्रतिको असावधानीका कारण पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्ममा आँखाको समस्या तीव्र रूपमा बढिरहेको छ । मोतियाविन्दु, जलविन्दु, र मधुमेह तथा उच्च रक्तचापका कारण आँखाको पर्दामा देखिने जटिल समस्याहरूले गर्दा धेरै व्यक्तिहरूले दृष्टि गुमाउने जोखिम व्यहोरिरहेका छन् ।
यसै सन्दर्भमा, आँखामा देखिने समसामयिक समस्याहरू, यसबाट जोगिने उपाय, आधुनिक प्रविधिमार्फत भइरहेको उपचार र आँखा दानको महत्त्वबारे केन्द्रित रहेर लाइट नेपालले विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालसँग विशेष कुराकानी गरेको छ । प्रस्तुत छ डा. सुवालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :
–लामो समयदेखि आँखा उपचारमा संलग्न हुनुहुन्छ, जटिल जटिल आँखाका रोगको उपचार गरिराख्नुभएको छ । पछिल्लो समय सबैभन्दा बढी देखिने आँखाको समस्या वा रोग के देख्नुभएको छ ?
–हाम्रो समाजमा देखिने सबैभन्दा धेरै आँखाको समस्या भनेको आँखा रातो हुने, आँखा दुख्ने, बिझाउने र सबभन्दा कमन भनेको दृष्टि सम्बन्धि समस्या हो । जस्तो कि चस्माबाट निको हुने दृष्टिको समस्याहरू र बुढेशकालमा लाग्ने भनेको मोतियाविन्दुको समस्याहरू नै हो । यी समस्या सबैभन्दा बढी छन् ।
–अहिलेको समयमा बच्चादेखि वृद्धसम्मले मोबाइल हेर्छन्, कम्प्युटरमा काम गर्छन् । धेरै समय स्क्रिनको प्रयोग पनि भइराखेको छ । यसले कस्ता समस्या निम्त्याउँछ र यसबाट कसरी जोगिने ?
– अब सबैभन्दा सुरुमा त हामीले हाम्रो बच्चाहरूलाई काउन्सिलिङ गर्नुपर्छ । मोबाइल धेरै चलाउन नदिने, बाहिर प्राकृतिक गेमहरू खेल्ने, फुटबल, क्रिकेटहरू भयो, व्यायाम एक्सरसाइजहरू गर्ने, बाहिरको वातावरणसँग घुलमिल हुने, मोबाइल धेरै नचलाउने । त्यति गर्दाखेरि पनि के हुन्छ भने कहिलेकाहीँ बच्चाहरू मान्दैनन् । मानेनन् भने पनि उनीहरुको समय तोकिदिने र दिनको बढीमा एक घण्टा चलाउन मात्रै दिने । बच्चाहरूलाई कहिले खाना खाँदाखेरि युट्युब हेर्न मन लाग्छ भने १५ मिनेट, २० मिनेट टाइम तोकिदिने र सिस्टम अनुसार उनीहरूलाई त्यही ह्यान्डिलिङ गर्न सिकाउने ।

–हामीले सामान्यतया ‘अब मेरो आँखामा समस्या देखिन थालेछ’ भनेर चाहिँ कसरी थाहा पाउनु पर्छ ?
–बच्चाहरूमा र वृद्धहरूमा छुट्टै छुट्टै किसिमको समस्याहरू हुन्छ । बच्चाहरू हो भने चाहिँ उनीहरूले पढाई र परीक्षाहरुमा राम्रो नतीजा ल्याउँदैनन् । पढाइमा कमजोर हुँदै जान्छन् । उनीहरूलाई थाहा हुँदैन कि बच्चाको दृष्टि कमजोर भएको कारणले गर्दाखेरि उसले ह्वाइटबोर्ड, ब्ल्याकबोर्डमा जे लेखिराछ त्यो देख्दैन । त्यही भएर उनीहरूले जे पढ्नुपर्ने कुरा हो त्यो पढ्न सकिरहेको हुँदैन । त्यही भएर अभिभावकले बालबालिकाहरूको छ–छ महिना वा एक–एक वर्षमा चाहिँ आँखाको चेकजाँच अनिवार्य गराइराख्नुपर्छ । र समस्या चस्मा लाग्ने छ भने चाहिँ समयमा नै चस्मा लगाइदिनुपर्छ ।
बालबालिकामा कहिलेकाहीँ के हुन्छ भने ३ देखि ५ वर्षकाले पनि चस्मा लागिरहेका हुन्छन् । तर यत्रो सानोमा मेरो बच्चाको आँखा कसरी बिग्रिन्छ भनेर अभिभावकहरू गुनासो गरिरहेका हुन्छन् । त्यस्तो गुनासो गर्नुहुँदैन । यो सबैलाई हुँदैन, कसैलाई हुन्छ, कसैलाई हुँदैन । गुनासो गर्नुहुँदैन । चस्मा लगाउनुपर्ने बालबालिकालाई चाहिँ समयमा नै चस्मा लगाइदिनुपर्छ । त्यसले समस्या समयमा नै नियन्त्रणमा लिन्छ र बढ्न दिँदैन ।
फेरि केही व्यक्तिहरू के सोच्छ भने – ‘चस्मा लगाइदियो भने जिन्दगीभर लगाउनुपर्छ, अब मेरो बच्चाको आँखा नै बिग्रियो ।’ तर, त्यस्तो कहिले हुँदैन । समयस्या देखिएको समयमा तपाईले चिकित्सकको सल्लाहमा चस्मा लगाउनुभएन भने भविष्यमा झन् धेरै पावरको चस्मा लगाउनुपर्ने हुनसक्छ । र बच्चाहरूमा चाहिँ समय मिलाएर आँखा चेकजाँच गरायो भने कुन समय सम्म चस्मा लगाईरहने भन्ने थाहा हुन्छ ।
र वृद्ध बुढेशकालमा के हुन्छ भने ४० वर्ष उमेर कट्ने बित्तिकै धेरैमा मोबाइल चलाउन गाह्रो हुने, कम्प्युटरहरू चलाउन गाह्रो हुने, टाउको दुख्ने समस्याहरू हुनसक्छ । त्यो भनेको के हो भने उहाँहरूलाई अब उमेरको कारणले गर्दाखेरि हुने प्रेसवायोपिया भन्छौँ, उमेर सम्बन्धी चस्मा लाग्ने । त्यो चस्मा लाग्न सक्छ । त्यो चस्मा लागायो भने पनि सेम त्यही हो, एक–एक वर्षमा वा छ–छ महिनामा नियमित डाक्टरलाई देखाउने, चस्माको चेकजाँचहरू गराउने र यदी चस्मा लगाउनु परिरहेछ भने लगाउने गर्नुपर्छ । चस्मा लगायो भने राम्रोसँग मोबाइल चलाउने सजिलो हुन्छ, टाउको दुख्ने समस्याबाट मुक्ति पाईन्छ ।
र वृद्धहरू ६० वर्ष कटेकाहरूले त नियमित आफ्नो आँखाको जाँच गराइराख्नु पर्छ । यो उमेरमा दृष्टिमा समस्या हुने, धमिलो देख्ने, ब्लरी देख्ने, बादल लागेको जस्तो देख्ने, हुन्छ । त्यस्तो भयो भने एकचोटि मोतियाविन्दुको जाँच पनि गराउनुपर्छ । हामीहरू चाहिँ डाइलेट गरेर, आँखा डाइलेट गरेर मोतियाविन्दुको अवस्था कस्तो छ, मोतियाविन्दुको ग्रेडिङ कस्तो छ, भनेर चेकजाँच गर्छौँ । त्यो चेकजाँच गरिसकेपछि पर्दामा समस्या छ कि छैन, अब बुढेशकालमा लाग्ने भनेको त्यही सुगर, प्रेसरहरू हो । सुगर, प्रेसरले गर्दाखेरि हामीहरू ठ्याक्कै पर्दामा डायबिटिक रेटिनोप्याथी, हाइपरटेन्सिभ रेटिनोप्याथीहरू हुनसक्छ यो चेकजाँच गर्छौँ र त्यो अनुसारको ट्रिटमेन्टहरू गर्छौँ ।
अहिले त के सजिलो छ भने वल्र्डको सबैभन्दा धेरै मोस्ट कमन्ली प्रिभेन्टेबल ब्लाइन्डनेस भनेरै क्याट¥याक्टलाई भन्छौँ, त्यस्तो भएपछि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्छ । हामीहरू मोतियाविन्दुको अपरेसन गर्दा पनि ओपिडी बेस्ड प्रोसिडर गर्छौ । आज अपरेसन गरेर आजै नै हामी छुट्टी पनि गरिदिन्छौँ । यो सिम्पल प्रोसेस हो र यस्तो गरेपछि आज उहाँलाई धमिलो, बादल लागेको देख्ने पनि भोलिपल्टै उहाँले राम्रो छर्लङ्ग देख्न पाउनुहुन्छ ।

–एउटा स्वस्थ व्यक्तिले पनि कति समयमा आँखा चेक गर्नुपर्छ अथवा पर्दैन ?
-यदी अवस्था सबै नर्मल छ, सबै राम्रो छ भनेपछि एक–एक वर्षमा चेकजाँच गराएको धेरै राम्रो हो ।
– मोतियाविन्दु, जलविन्दु, रेटिना सम्बन्धी रोगहरू कत्तिको खतरनाक हुन्छ ? अनि समयमै उपचार नगर्दा कस्ता समस्या अझै निम्तिन सक्छन् ?
-सबै रोग खतरनाक नै हुन्छन् । कुनै पनि रोग सामान्य र कुनै पनि रोग एकदमै गाह्रो भनेर हुँदैन, सामान्यले गाह्रो अवस्थामा पुर्याउँछ । तर, आँखा सम्बन्धी चाहिँ के फाइदा छ भने तपाईंमा मोतियाविन्दु छ भने चाहिँ नेपालमा एकदमै चाँडो उपचार गर्न सकिन्छ । यहाँ एकदमै हाई सक्सेस रेट छ र अपरेसन गर्यो भने यसको सक्सेस रेट भनेको भोलिपल्ट तपाईं एकदमै छर्लङ्ग, क्लियर देख्न सक्नुहुन्छ ।
तर त्यो बाहेक यदी रोगीलाई डायबिटिक रेटिनोप्याथी, हाइपरटेन्सिभ रेटिनोप्याथीहरू, पर्दामा समस्या पनि हुन सक्छ । र भविष्यमा पनि तपाईंको केयरलेसनेस गर्नुभयो, दबाई राम्रोसँग लगाउनुभएन, आँखाको हेरचाह राम्रोसँग गर्नुभएन, आँखाको प्रेसर कन्ट्रोल गरिराख्नु भएको छैन भने अन्य समस्या पनि आउन सक्छ । दबाई लगाइराख्नु भएको छैन भनेपछि साइट स्टिलिङ रोग देखापर्न सक्छ । यो भयो भने भिजनहरू तपाईंको नष्ट गर्छ, त्यसलाई फेरि फिर्ता लिएर आउन एकदमै गाह्रो हुन्छ ।
–मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरूको आँखाको जोखिम कत्तिको बढी हुन्छ ? नियमित परीक्षण उनीहरूको आवश्यक छ कि छैन ? अन्य रोग लागेकाहरूले मेरो आँखामा पनि असर गर्यो कि भन्न सक्ने सम्भावना कत्तिको हुन्छ ?
-एकदमै हुन्छ । मधुमेह रोग, प्रेसर भयो हाइपरटेन्सन, जसले गर्दाखेरि आँखाको पर्दामा असर पारिरहेको हुन्छ । जसले गर्दाखेरि दृष्टि कमजोर भइरहेको हुन्छ । तर रोगीलाई थाहा हुँदैन, आँखाको नसहरू फुटिरहेको हुन्छ भित्र भित्रै । प्रोलिफेरेटिभ रेटिनोप्याथी, नन–प्रोलिफेरेटिभ रेटिनोप्याथी ग्रेडिङहरू हुन्छ । जसमा नसा भित्र आँखा भित्र जुन पर्दा हुन्छ, त्यसमा साना साना नसहरू हुन्छ । नसहरू फुट्दै जाने, रगत जम्ने, प्रेसरले गर्दाखेरि त्यो भित्रको नसहरू फुट्ने हुन्छ र पर्दामा समस्या भइरहेको हुन्छ ।
तर, सबै कुरा राम्रो देखिरहेको हुन्छ, भित्रको असर थाहा हुँदैन । पर्दामा चाहिँ समस्या गइरहेको हुन्छ, दुःख दिइरहेको हुन्छ । र कुनै न कुनै दिन त्यसले एक्कासि डेन्जरस रूप लिन सक्छ । त्यही भएर ६, ६ महिना वा ३, ३ महिनामा यो प्रेसर र सुगर भएको मान्छेले चाहिँ आँखा चेकजाँच गराइराख्नु पर्छ ।
–आँखा अपरेसन भन्ने बित्तिकै मान्छेहरु डराउँछन् । त्यसमा पनि आँखाको बिराम लागिसकेपछि अपरेसनमा अझै पनि डर र भ्रम खेरिएको पाईन्छ । यसको वास्तविकता के हो ?
– अब आँखामा समस्या भइसकेपछि डराउनुपर्ने कुरा त छैन । किनकि हाम्रो अहिले देश नेपाल आँखामा सबैभन्दा राम्रो प्रगति गरेको देश हो । आँखा रिलेटेड डिजिजहरूमा राम्रो पिकअप लिएको र एसियामै सबैभन्दा राम्रो उपचार गर्ने देशहरूमा हामी नेपाल पर्दछौँ । र डराउनुपर्ने कुरा त डर त सबैलाई हुन्छ, सानो आफ्नो शरीर सम्बन्धीको समस्यामा कोही गाह्रो भयो भने जो कोहीलाई पनि डर लाग्छ । तर ढुक्क भएर बस्नुस् कि अहिले नेपालमा आँखाको टेक्नोलोजी धेरै राम्रो भइसकेको छ र प्लस हाम्रो अस्पतालमा सबै लेटेस्ट टेक्नोलोजी युक्त हामीहरू अपरेसन गर्छौँ । र हजुरहरूको आँखामा केही समस्या भएको छ भने हामीलाई सम्झनुस्, हामीहरू तपाईंको सबैभन्दा एडभान्स टेक्नोलोजीले हजुरको उपचारमा हामी सहयोग पुर्याउँछौँ ।
– अहिले आँखा दान, कर्निया प्रत्यारोपणको अवस्था कस्तो छ नेपालमा ? यसको महत्त्व कत्तिको छ ?
– अब हुन त अहिले नेपालको कन्टेक्स्टमा ट्रान्सप्लान्ट एकदमै गाह्रो छ । विदेशमा त यसको राम्रो बेस बसेको छ । तर नेपालमा अहिले हामी यो यो रिलेटेड फिल्डमा चाहिँ हामी धेरै ब्याक छौँ । नेपालमा एउटा मान्छे मरेर गइसकेपछि उस भित्र धेरै नै अंगहरू हुन्छ जसलाई हामीले हार्भेस्ट गरेर युटिलाइज गर्न सक्छौँ । त्यसमा सबैभन्दा कमन र सबैभन्दा इजिली हार्भेस्टेबल अंग भनेकै कर्निया हो ।
हामीले राम्रोसँग जनचेतना फैलायो भने, डोनर लिस्टहरू बढ्छन् । र यदी कसैलाई डोनेट गर्न मन छ भने हाम्रो टिम पनि छ । सम्पर्क गर्न सक्नुहुन्छ । र उहाँले दानमा दिनुभएको आँखाले अरू दुईदेखि चार जनासम्म बिरामीहरूलाई भविष्यमा देख्न सक्ने वातावरण हामी बनाउन सक्छौँ ।
–अब अस्पतालको कुरा गरौं, रानी आँखा अस्पतालमा उपलब्ध हाम्रा अत्याधुनिक सेवा, उपकरण कस्ता छन् ?
-अहिले हामीले आँखा सम्बन्धी धेरै जसो सुविधाहरू ल्याएका छौं । सम्पूर्ण त भन्न मिल्दैन, तर धेरै जसो सेवाहरू छ । मोतियाविन्दुको लागि हामीहरूले जर्मन टेक्नोलोजी फेको प्रविधिबाट हामीहरू अपरेसन गर्छौँ । जसमा हाम्रो जायसको माइक्रोस्कोप र जायसकै फेको मेसिन पनि छ । त्यसले गर्दाखेरि तपाईंको ओपिडी प्रोसिडरमै हामीहरू क्याट¥याक्ट सर्जरी गरेर आज अपरेसन गरेर आजै नै बिरामीलाई घर पठाउन सक्छौँ ।
त्यो बाहेक पर्दामा समस्या छ भने पर्दाको समस्या के छ, कति छ र कतिसम्म ड्यामेज पराएको छ, त्यसलाई हेर्नको लागि, जलविन्दुको समस्या हेर्नको लागि हामीसँग ओसिटि मेसिन छ । ओसिटि मेसिन भनेको शरीरको जस्तो सिटी स्क्यान गर्छौँ, त्यस्तै नै ओसिटि मेसिन आँखा सम्बन्धी सबै समस्याहरूको डायग्नोसिस हो, के के भइरहेछ आँखाको पर्दालाई, त्यो सबै पत्ता लगाउनमा एकदमै हेल्प गर्छ ।
आँखाको नसाले कति काम गरिरहेछ, आँखाको पर्दाको थिकनेस कति छ, रगतहरू कति जमिरहेको छ, त्यो सबै हामीहरू क्लियरली थाहा पाउन सक्छौँ । त्यो बाहेक जलविन्दु छ भने जलविन्दुले गर्दाखेरि दृष्टिमा कति असर पारिरहेछ, त्यो पनि हामीहरू ओसिटि मेसिनबाट थाहा पाउन सक्छौँ ।
त्यस्तै ओसिटि मेसिन बाहेक हामीसँग भिजुअल फिल्ड पनि छ । भिजुअल फिल्डले पनि छेउछेउमा पेरिफेरीमा उसको दृष्टि कस्तो छ, कुन कुन एरियामा उसको दृष्टि कमजोर छ यो समस्या पहिचान गर्छ । किनकि जलविन्दु भएको मान्छेलाई चाहिँ सेन्ट्रल भिजन एकदमै राम्रो हुन सक्छ तर पेरिफेरल भिजनहरूमा कमजोरी हुन सक्छ त्यो पनि पत्ता लगाउने मेसिन हाम्रो भिजुअल फिल्ड छ ।
त्यो बाहेक मोतियाविन्दुको अपरेसन गर्नुभएको छ भने कहिलेकाहीँ के हुन्छ भने जुन हामीले लेन्स हाल्छौँ, लेन्समा अब यहाँ नर्मल्ली झिल्ली भन्छौँ, अंग्रेजीमा चाहिँ पोस्टेरियर क्याप्सुलर ओपेसिटी पिसिओ भन्छौँ । त्यो भइसकेको बिरामीलाई हामी लेजर प्रविधिबाट निदान पनि गर्छौँ । त्यो बाहेक हामीसँग नयाँ लेराको मेसिन ग्रिन लेजर छ । यो एडभान्स टेक्नोलोजीको ग्रिन लेजर हो, जसले पर्दामा भएको रगत जमेको बिरामीहरूलाई पनि लेजर प्रविधिबाट उपचार गछौं । त्यो पर्दा त्यो रगतलाई हामीहरू निर्मूलीकरण र निको बनाउन सक्छौँ ।

–दुर्गम गाउँहरु धेरै भएको देश हो हाम्रो । गाउँका बिरामीहरूलाई लक्षित गरेर अस्पतालले कस्ता कार्यक्रम, स्वास्थ्य सेवा र शिविरहरू सञ्चालन गरिरहेको छ ?
– हुन त हामीहरू प्राइभेट अस्पताल हो । तर, प्राइभेट अस्पताल भएता पनि हाम्रो ट्रिटमेन्टहरू एकदमै सहुलियत मूल्य, एकदमै सस्तो रेटहरू हालेका छौँ । त्यो हुँदाहुँदै पनि गरिब दुःखीहरूको लागि हामीले हरेक दिन तीनवटा फ्रीमा मोतियाविन्दुको अपरेसन पनि गरिरहेका छौँ । र यदी कोही दुःखीहरू हुनुहुन्छ भने उहाँहरूको प्रक्रिया पुगिरहेको छैन तर उहाँलाई गाह्रो भइरहेछ भने हामीले चाहिँ डिस्काउन्टको व्यवस्था पनि गरिरहेका छौं ।
–अन्त्यमा, यो आँखालाई स्वास्थ्य राख्न हामीले दैनिक जीवनमा अपनाउनुपर्ने क्रियाकलाप कस्ता हुन सक्छन् ?
-आँखा स्वस्थ बनाउनको लागि अपनाउने अहिलेको समयमा प्रमुख कुरा मोबाइल कम समय चलाउनु हो । अहिले मोबाइल चलाउँदाखेरि धेरै ध्यान दिनुपर्छ, आँखालाई रेस्ट गर्दै मोबाइलहरू चलाउनुपर्छ । अँध्यारो कोठामा धेरै मोबाइल नचलाउने र उज्यालो कोठामा मोबाइल चलाउनुपर्छ । धेरै मोबाइल चलाउनुहुँदा बाहिर टाढा पनि हेर्दै, मोबाइल चलाउँदै, आँखालाई पनि एक्सरसाइज दिँदै गरेर मोबाइल चलाउनुपर्छ ।
बाहिर बाहिर घुम्न जानुभयो भने सनग्लासेसहरू लगाएर धुलो, धुवाँहरूबाट बचेर, यूभी रेज यूभी रेजहरूबाट बचेर बाट बचेर हामीले चस्मा लगाएर घुम्न जाने गर्नुपर्छ । कसैले वेल्डिङहरू गर्नुहुन्छ, कसैले धुलोहरूमा काम गर्ने हुन्छ, कहिले झाडु लगाउने काम गर्नुहुन्छ भने चस्मा लगाएर काम गर्ने । त्यसले गर्दाखेरि आफ्नो आँखामा नचाहिने धुलोहरूबाट बचाउँछ र भविष्यमा हुन सक्ने एक्सिडेन्टबाट पनि चस्माले बचाउन सक्छ ।
आँखाको ध्यान राख्ने, बिहान उठ्दाखेरि जब हामीहरू आँखा मुखहरू धुन्छौँ, मुख धुँदाखेरि आँखालाई पनि एकचोटि ध्यान दिएर बाहिर परेलाहरू सफा गर्ने, साबुन अथवा स्याम्पुले परेला सफा गर्नुपर्छ ।