विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ नलिने निर्णय गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको भन्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन २० गते पत्र पठाएका हुन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति सरकारलाई आभार व्यक्त गरेका छन् । तर, उक्त रकम आफूले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवास गत वर्षको जनजनागरण (जेनजी) आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो ।