ब्युनर्स आयर्स । अहिलेसम्म पृथ्वीमा बाँचेका सबैभन्दा विशाल डायनासोरमध्ये एक हो टाइटानोसर । यसले पृथ्वीको दक्षिणी ध्रुवतर्फका चिसा क्षेत्रमा समेत अण्डा पारेर प्रजनन गर्ने गरेको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ ।
वैज्ञानिकहरूले दक्षिणी अर्जेन्टिनाको चोरिल्लो फर्मेसन क्षेत्रमा टाइटानोसरका २५५ वटा जीवाश्मकृत अण्डाका बोक्राका टुक्रा फेला पारेका हुन् । यो खोजले यी विशाल डायनासोरहरू न्यानो र भूमध्यरेखानजिकका क्षेत्रमा मात्र प्रजनन गर्थे भन्ने पुरानो धारणामाथि प्रश्न उठाएको छ ।

टाइटानोसर लामो घाँटी भएका, वनस्पति खाने र तुलनात्मक रूपमा सानो मस्तिष्क भएका विशाल साउरोपोड डायनासोरको समूह हो । वैज्ञानिकहरूका अनुसार यिनीहरू सम्भवतः ठुलो समूहमा हिँड्थे र लामो दूरीसम्म बसाइँसराइसमेत गर्थे । एउटै क्षेत्रमा हजारौँ वर्षसम्म पटक–पटक आएर गुँड बनाउने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । यसअघि टाइटानोसरका हड्डीहरू दक्षिणी अर्जेन्टिना र अन्टार्कटिकादेखि उत्तरी गोलार्धको मंगोलिया र टेक्साससम्म भेटिइसकेका थिए ।
तर, उनीहरू यति उच्च अक्षांशमा पुगेर वास्तवमै अण्डा पार्थे कि पर्दैनन् भन्ने विषयमा भने स्पष्ट प्रमाण थिएन । क्यानडाको युनिभर्सिटी अफ क्यालगरीकी जीवाश्मविद् डार्ला जेलेनित्स्कीका अनुसार नयाँ खोजले टाइटानोसरले उच्च अक्षांशमा पनि प्रजनन गर्ने गरेको प्रमाण दिएको छ । डायनासोरका अण्डा विकसित हुन पर्याप्त ताप आवश्यक हुन्छ । भूमध्यरेखाबाट टाढा जाँदा तापक्रम कम हुने र सूर्यको प्रकाश पनि तुलनात्मक रूपमा कम उपलब्ध हुने भएकाले त्यस्ता क्षेत्रमा अण्डा हुर्काउनु चुनौतीपूर्ण हुन्थ्यो ।
तर, टाइटानोसरले यसको समाधानका लागि रोचक रणनीति अपनाएको वैज्ञानिकहरूको अनुमान छ । अध्ययनअनुसार यी विशाल डायनासोरले सम्भवतः माटो, बालुवा र वनस्पतिबाट बनेका थुप्रा आकारका गुँडमा अण्डा पार्थे । त्यहाँ कुहिँदै गरेको वनस्पतिबाट उत्पन्न हुने तापले अण्डालाई आवश्यक न्यानोपन प्रदान गर्ने सम्भावना रहेको वैज्ञानिकहरूको भनाइ छ ।
यसलाई आधुनिक समयमा केही जीवहरूले अपनाउने प्राकृतिक इन्क्युबेसन प्रक्रियासँग तुलना गर्न सकिन्छ । कुहिँदै गरेको वनस्पतिबाट उत्पन्न तापले बाहिरी वातावरण चिसो भए पनि गुँडभित्र अण्डाका लागि तुलनात्मक रूपमा उपयुक्त तापक्रम कायम गर्न सहयोग पुर्याउन सक्थ्यो । वैज्ञानिकहरूका अनुसार टाइटानोसरले आफ्ना अण्डालाई अन्य केही साना डायनासोर वा आजका चराले जस्तै शरीरले छोपेर तताउने सम्भावना निकै कम छ ।
विशाल शरीरका भएका टाइटानोसरहरू अण्डामाथि बसेको भए गुँड नै क्षतिग्रस्त हुन सक्थ्यो, अन्डा फुट्न सक्थ्यो । अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता जेलेनित्स्कीले टाइटानोसरले अण्डा ओथार्न बसेको अवस्थामा गुँड नै ठुलो ‘अण्डाको परिकार’ जस्तै बन्न सक्ने हास्यात्मक उदाहरण दिएकी छन् । त्यसैले यी डायनासोरले अण्डा पारिसकेपछि गुँड छाड्ने गरेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । आधुनिक धेरै सरीसृपजस्तै उनीहरूले पनि आफ्ना सन्तानलाई प्रत्यक्ष हेरचाह नगर्ने सम्भावना रहेको अध्ययनले संकेत गर्छ ।
भेटिएका अण्डाका बोक्रा निकै छिद्रयुक्त रहेको वैज्ञानिकहरूले बताएका छन् । यस्तो संरचनाले अण्डाबाट पानी सजिलै बाहिर निस्कन सक्ने भएकाले अण्डा खुला वातावरणमा छोडिएको भए सुक्ने र भ्रूणको विकास रोकिने जोखिम हुन्थ्यो । त्यसैले अण्डालाई माटो, बालुवा वा वनस्पतिले ढाकेर राख्नु जरुरी हुन सक्थ्यो । यसरी गुँडभित्र पर्याप्त चिस्यान कायम रहन्थ्यो र अण्डा सुक्नबाट जोगिन्थ्यो । यस खोजले टाइटानोसरले आफ्नो विशाल शरीर र उच्च अक्षांशको चिसो वातावरणबीच कसरी अनुकूलन गरेको थियो भन्नेबारे नयाँ जानकारी दिएको छ । टाइटानोसर ६ करोड ८० लाख वर्ष पहिले पाइन्थे ।