काठमाडौँ । यमनको हुथी समूहले रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ।
हुथीका अनुसार दक्षिणपश्चिमी ताइज प्रान्तस्थित मोचा कब्जापछि सरकारी सुरक्षा बलले कारागारबाट पछि हट्ने क्रममा २१० बन्दीलाई एउटै हलमा थुनेर गएको थियो। हुथी लडाकुले कारागारमा प्रवेश गरी उनीहरूलाई मुक्त गरेको र शनिबार उनीहरू राजधानी साना पुगेको अल–मसिराह टेलिभिजनले जनाएको छ।

यसअघि संयुक्त राष्ट्रसंघको पहलमा भएको वार्तामा दुवै पक्षबीच करिब १,७५० बन्दी आदानप्रदान गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन। हुथीले मोचा र मयुन द्वीप कब्जा गर्दै लाहजतर्फ अघि बढेपछि यमनको मुख्यालय रहेको एडेननजिकै पनि युद्धको जोखिम बढेको छ।