काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुनः सुरु गरेको छ। एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सोमबार (सेप्टेम्बर २८) देखि पुनः सञ्चालनमा ल्याएको हो।
एयरलाइन्सका अनुसार प्रारम्भिक चरणमा सातामा दुई उडान सञ्चालन हुनेछन्। काठमाडौं–सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ।

उडान तालिकाअनुसार काठमाडौं–सांघाई उडान साँझ ६ः२५ बजे काठमाडौंमा प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ। त्यस्तै, सांघाई–काठमाडौं उडान बिहान ३ बजे प्रस्थान गरी बिहान ७ः१० बजे काठमाडौं आइपुग्नेछ। उल्लेखित सबै समय स्थानीय समयअनुसार हुन्।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडान पुनः सञ्चालनले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।
एयरलाइन्सले यात्रुको माग र उडानको लोड फ्याक्टरका आधारमा आगामी दिनमा उडान संख्या बढाउने जनाएको छ। मुख्य पर्यटकीय सिजनको सुरुआतसँगै सेवा पुनः सञ्चालन भएकाले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने अपेक्षा एयरलाइन्सले गरेको छ। यो रुटले काठमाडौं र सांघाईबीच यात्रुलाई सहज र सिधा हवाई सेवा उपलब्ध गराउने एयरलाइन्सको भनाइ छ।