काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ । सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिको बुधबार बसेको बैठकमा नेप्सेको कार्यक्षमता र सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
भट्टले पुँजी बजारको विद्यमान संरचना तथा पछिल्ला दिनमा नेप्सेमा देखिएका साइबर सुरक्षा चुनौतीलाई बोर्डले गम्भीर रूपमा लिएको बताए । “नेप्सेको कार्यक्षमता तथा सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचना प्रक्रिया अघि बढाउनेछौँ,” उनले भने, “स्वामित्व र संरचनागत परिवर्तनका विषय सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि नियामक निकायका रूपमा बोर्डले गर्नुपर्ने काममा दृढ छौँ।”

अर्थ मन्त्रालयको निर्देशनअनुसार अघिल्लो सरकारका पालामा रामेश्वर खनालको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारीसमेत सुरु भएको उनले जानकारी दिए ।

अध्यक्ष भट्टका अनुसार अर्थ मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि बोर्डलाई पत्र पठाइसकेको छ । त्यसअनुसार सेबोनले नेप्सेसँग छलफल गरी आफ्नो क्षेत्राधिकारभित्र पर्ने सुधारका काम अघि बढाउनेछ ।
विशेषगरी नेप्सेको साइबर सुरक्षा, सूचना प्रविधि प्रणाली, सुशासन तथा संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखिएको उनले बताए । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ ।
सीडीएससीलाई ‘सेन्ट्रल काउन्टरपार्टी’का रूपमा विकास गर्ने योजना रहेको बताउँदै भट्टले यसबाट सेयर खरिद–बिक्रीमा थप सुरक्षा तथा कारोबारको ग्यारेन्टी सुनिश्चित हुने बताए ।
पुँजी बजारको दायरा विस्तार गर्न आगामी दिनमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ्सजस्ता नयाँ वित्तीय उपकरण भित्र्याउन आवश्यक पूर्वाधार विकास र गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।