Lite Nepal

शनिबार, आश्विन २४, २०८३

एजेन्सी । भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का प्रमुखसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ ।

युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दिपकेसहित तीन नेतालाई विमानबाट ओर्लिने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय निर्वाचन आयोग (ईसीआई)ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन हुन लागेका हुन् ।

विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् ।

तर, निर्वाचन आयोगले भने ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु यसको मुख्य उद्देश्य रहेको बताएको छ । विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका छन् ।

“यो आधिकारिक भयो…हामी मोदीको पूर्ण तानाशाही शासनमा बाँचिरहेका छौँ,” केजरीवालले भने । विमानबाट ओर्लिने बित्तिकै आन्दोलनकारीलाई पक्राउ गरिनुले सरकारमा अभूतपूर्व स्तरको डर रहेको देखाएको उनको भनाइ थियो ।

प्रदर्शनकारीलाई राजधानीको मध्य भागमा रहेको मुख्य प्रदर्शन स्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । अधिकारीहरूले दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन् । प्रदर्शन स्थल आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

शनिबार प्रसारित टेलिभिजन दृश्यहरूमा प्रहरीले मध्य दिल्लीका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई लखेट्दै र उनीहरूलाई सवारीसाधनमा राख्दै गरेको देखिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यी प्रदर्शनलाई गत जुलाईमा सीजेपीले गरेको व्यापक जनपरिचालनको निरन्तरताका रूपमा हेरिएको छ । उक्त आन्दोलन परीक्षासम्बन्धी विवादपछि चर्किएको थियो र त्यसले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको थियो ।

यस पटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं