विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गोली प्रहार गरी प्रहरीले लागूऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीवार बक्राहा खोलाको बगरमा लुकाइराखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.६५ किलोग्राम गाँजा बरामद गरिएको थियो। उक्त गाँजा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएको स्थानमा पुनः कारोबार हुन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बिहीवार दिउँसो १२ः२५ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले केही व्यक्तिलाई गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको थियो।

प्रहरीलाई देखेपछि उनीहरू भारततर्फ भाग्न खोजेका थिए। नियन्त्रणमा लिन खोज्दा भारततर्फ भागेका व्यक्तिहरूमध्ये एक जनाले सानो हतियारबाट एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनी निवासी ३९ वर्षीय प्रमोद चौधरी र महगामा ग्राम पञ्चायत–४ निवासी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार प्रमोद चौधरीको घुँडामुनि गोली लागेको छ।
प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनासँगै बरामद गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।