Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

काठमाडौँ । बडा दसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

नवदुर्गाको प्रसादका रूपमा लगाइने जमरालाई सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ । यही धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जमरा काठमाडौँका विभिन्न स्थानमा बिक्रीका लागि राखिएको पाइएको छ ।

विजयादशमीका दिन काठमाडौँको स्वयम्भूस्थित भगवान् पाउ क्षेत्रमा घरमै उमारिएका जमरा बिक्रीका लागि राखिएका थिए । परम्परागत रूपमा घरघरमा उमारिने जमरा बजारमा किनबेच भएको दृश्य कतिपयका लागि अनौठो भए पनि खरिद गर्नेहरूको चहलपहल देखिएको थियो ।

घटस्थापनाका दिन विधिपूर्वक देवीको आह्वान गरी जमरा राख्ने हिन्दु परम्परा छ । जमरा राम्रोसँग पहेँलो बनाउन घरको घाम नपर्ने पवित्र स्थान वा पूजाकोठामा राख्ने गरिन्छ । यसरी जमरा राखिएको स्थानलाई जमरा घरसमेत भनिन्छ ।

विजयादशमीका दिन मान्यजनबाट रातो टीकासँगै जमरा ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका ग्रहणका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको थियो । यद्यपि, धेरैले बिहान दुर्गा विसर्जन गरेपछि आआफ्नो अनुकूल समयमा टीका लगाउन सुरु गरेका थिए ।

विशेषगरी घरमा जुठो वा सुतक परेका, डेरामा बस्ने तथा पर्याप्त स्थानको अभावमा जमरा राख्न नसकेका व्यक्तिका लागि बजारमा उपलब्ध जमरा उपयोगी बनेको छ । स्वयम्भूका रुपेश आचार्य पनि जमरा खरिद गर्न भगवान् पाउ पुगेका थिए । घरमा सुतक परेका कारण घटस्थापनाका दिन जमरा राख्न नपाएको उनले बताए ।

“यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने मलाई थाहा थिएन । छिमेकीले किनेर लगेको जानकारी पाएपछि म पनि किन्न आएको हुँ,” आचार्यले भने । उनका अनुसार बिहानैदेखि जमरा खरिद गरेर लैजानेहरू देखिएका थिए । घरमा जमरा राख्न नसक्नेहरूका लागि बजारबाट खरिद गर्न पाउनु सहज विकल्प बनेको उनको भनाइ छ ।

जमरा बिक्री भइरहेको देखेर केहीले आश्चर्य व्यक्त गरेका थिए भने कतिपयले यसलाई समय र परिस्थितिअनुसारको व्यावहारिक सुविधा मानेका थिए । धार्मिक परम्पराअनुसार घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीकासँगै लगाउने चलन छ ।

विभिन्न कारणले घरमा जमरा राख्न नसक्नेहरूका लागि बजारमा उपलब्ध जमराले दसैँको परम्परा निर्वाह गर्न सहज बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं