काठमाडौं । भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ ।
रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ।

अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ । नेशनल स्टक एक्सचेन्जले यसअघि २.४ अर्ब डलरको आईपीओ निष्कासन गरेको थियो । त्यसको एक महिनाको अवधिमा जियोको मेगा आईपीओ आएको हो ।

केजरीवाल रिसर्च एन्ड इन्भेस्टमेन्ट सर्भिसेजका अरुण केजरीवालले सेयर बजार सुस्त रहेको बताए । । आकर्षक मूल्यांकन तथा विस्तारयोग्य प्रविधि व्यवसायप्रतिको आकर्षणका कारण संस्थागत र सर्वसाधारण लगानीकर्ताहरू आईपीओतर्फ आकर्षित भएको उनको भनाइ छ ।
सूचीकृत कम्पनीहरूको तुलनामा आईपीओको मूल्य-आम्दानी अनुपात व्यवस्थित गरिएकाले यो लगानीकर्ताका लागि आकर्षक बनेको उनले बताए।
शुक्रबार बन्द हुने यस आईपीओका लागि जियो प्लेटफर्म्सले प्रतिशेयर १,०६५ देखि १,११९ भारतीय रुपैयाँसम्मको मूल्य तय गरेको छ। भारतको प्रमुख सेयर सूचकांक ‘निफ्टी ५०’ मा यस वर्ष १२ प्रतिशतभन्दा बढीको गिरावट आइरहेका बेला यो सेयर निष्कासन भएको हो।
आईपीओ खुल्नु अगावै सोमबार संस्थागत लगानीकर्ताहरूले आफ्ना लागि सुरक्षित गरिएको कोटाभन्दा ३० गुणा बढी अर्थात् ३.२ अर्ब डलर बराबरको आवेदन दिएका छन् ।
भारतीय लगानीकर्ताहरूले रिलायन्स समूहका कम्पनीहरूलाई लामो समयदेखि सम्पत्ति सिर्जना गर्ने कम्पनीका रूपमा हेर्दै आएका छन्। संस्थापक धिरुभाई अम्बानीले सेयरधनीहरूलाई “रिलायन्स परिवार” को रूपमा सम्बोधन गर्ने परम्परा बसालेका थिए,जसले कम्पनीप्रति लगानीकर्ताको उच्च विश्वास कायम राखेको छ।