Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको एक नयाँ अध्ययनले देखाएको छ । अध्ययनअनुसार तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनबाट थपिएको तापक्रम जिम्मेवार रहेको छ ।

अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण बढेको तापक्रमले ३२ हजार ६१९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । यो सन् २०२२ को गर्मीयाममा जलवायु परिवर्तनसँग सम्बन्धित अनुमानित २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धनको प्रयोगबाट बढेको तापक्रमले सामान्य अवस्थामा असहज हुने गर्मीलाई समेत खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्‍याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघि‌को तुलनामा २.५ डिग्री सेल्सियसले बढिसकेको छ । यस गर्मीयाममा केही सहरमा तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको अध्ययनमा उल्लेख छ ।

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको पाइएको छ । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । यद्यपि, गर्मीको प्रभाव ज्येष्ठ नागरिकमा मात्रै सीमित नरहेको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् । उनका अनुसार २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको थियो ।

जलवायु परिवर्तनको प्रभाव आकलन गर्न अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको काल्पनिक अवस्थाको कम्प्युटर नमुनाबाट प्राप्त तापक्रमलाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको योगदान सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले बढेर ६५ प्रतिशत पुगेको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं