Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ ।

‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिम चितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ ।

नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ । विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ ।

नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्ग किमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । विश्वमा हाल चार हजारदेखि सात हजारको सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जलवायु परिवर्तनका कारण बढी असर परेको अवस्थामा उच्च हिमाली क्षेत्रमा बासस्थान रहेको हिउँचितुवाको जीवनचक्र तथा दैनिकी प्रभावित हुनु स्वाभाविक भएको बताएका छन् । उनकाअनुसार यसको वासस्थानमा आएको ह्रासले हिउँचितुवाको आहारा प्रजातिमा कमी भइदिँदा खानाको अभाव देखिने चुनौती थपिएको छ ।

हिउँचितुवालाई ‘आइयुसिएन’ले विश्वव्यापी जोखिमको हिसाबले रातो सूचीमा राखी सूचीबद्ध गरेको छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँचितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो हुन्छ ।

पर्यावरण मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्य योजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । तथ्याङ्कअनुसार पूर्वी नेपालको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् ।

हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको प्राणी हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं