सतर्कता अपनाउन आग्रह
काठमाडौं । यस साताको अन्त्यतिर देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएकाले यसको प्रभावले नेपालमा वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार बुधबारसम्म ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना छैन। तर, बिहीबार (कात्तिक १२) देखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बिहीबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ।

त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता विपद् निम्तिन सक्ने भन्दै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ। साथै, पछिल्लो मौसमी बुलेटिनबाट अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
लुम्बिनीदेखि कोसीसम्म भारी वर्षा हुन सक्ने
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि बिहीबारदेखि शनिबार (कात्तिक १४) सम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्।
“आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ। बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार हालको पूर्वानुमानले २९ जिल्लालाई वर्षाजन्य जोखिममा पर्न सक्ने देखाएको छ। यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा परिवर्तन हुन सक्ने उनले स्पष्ट पारेका छन्। उनले धानबाली भित्र्याउने तयारीमा रहेका किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
बंगालको खाडीमा विकसित प्रणाली चक्रवातमा परिणत हुन सक्ने
भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र आइतबार गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्ने र त्यसपछि सोमबार ९अक्टोबर २६० बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना छ।
उक्त प्रणाली थप शक्तिशाली बन्दै भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रतर्फ अघि बढ्न सक्ने विभागको पूर्वानुमान छ। त्यसपछि भारतको बिहार हुँदै उक्त प्रणालीको प्रभाव नेपालसम्म पर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्। मौसम पूर्वानुमानमा समयसँगै परिवर्तन हुन सक्ने भएकाले सम्भावित जोखिमबाट बच्न महाशाखा तथा सम्बन्धित निकायले जारी गर्ने पछिल्लो सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
