विराटनगर । सप्तकोशी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा तीन जना अझै बेपत्ता छन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले मोटरबोट चालकसँग आवश्यक कागजात माग गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा भोजपुरबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मोटरबोटमा १६ जना सवार थिए।

दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी ५२ वर्षीया लीला राई, सोही ठाउँकी मानु राईकी करिब पाँच वर्षीया छोरी आर्या राई र भोजपुरको आमचोक गाउँपालिका–९ स्थित दुम्माना घर भई हाल उदयपुरको बेलका नगरपालिका–६ मा बस्दै आएका ५५ वर्षीय रत्नबहादुर नेपाली रहेका छन्।

आइतबार दुर्घटना भएलगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो। बेपत्ता भएकाहरूको खोजीका लागि सोमबार पनि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली, सुरक्षा बेस रामपुरबाट छ जना र विपद् व्यवस्थापन बेस चतराबाट नौ जनाको टोली खोजीमा खटिएका छन्।
बेपत्ताको खोजीका लागि सुनसरी र धनकुटाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको रञ्जितकारले बताए। उनका अनुसार कोप्चेदेखि चतरासम्म बेपत्ताको खोजी भइरहेको छ भने चतराभन्दा तल्लो क्षेत्रमा पनि खोजी जारी छ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको र मोटरबोट चालक प्रहरी नियन्त्रणमा रहेको एसपी रञ्जितकारले बताए। चालकसँग मोटरबोट सञ्चालनसम्बन्धी आवश्यक कागजात माग गरिएको उनले जानकारी दिए। उनले भने,’चालकलाई सोध्दा अनुमति, दर्ता गरिएको कागजपत्र छ भन्छन्, सोही अनुासार हामीले दर्ता गरिएको आवश्यक कागज माग गरेका छौँ चालकले कागजात उपलब्ध गराउएपछि सो विषयमा थप जाँच हुनेछ ।’ दुर्घटनाको कारण तथा मोटरबोट सञ्चालनसम्बन्धी कागजातको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।