Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ ।

उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ ।

पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन तथा आपूर्ति व्यवस्थापनका विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा विद्युत् आपूर्ति सहज बनाउन गरिएको तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो ।

त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे छलफल तथा समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन् ।

प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि निर्देशन दिइएको छ । त्यस्तै, विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित कार्यालयलाई आग्रह गरिएको छ ।

प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट रहने अनुमान गरिएको छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । उनका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज हुने प्राधिकरणको अपेक्षा छ ।

पर्व अवधिभर विद्युत् माग तथा आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं