काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा आवागमनलाई सहज बनाउन आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी परिचालन तथा निगरानी बढाइएको हो।

विशेषगरी बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई सुरक्षाको प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको जानकारी दिए।
उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिनेछ।
त्यसैगरी, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै सम्भावित घटनामा तत्काल प्रतिकार्य गर्न द्रुत परिचालन टोली तथा विपद् व्यवस्थापनमा खटिने प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले बताए।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणलाई समेत प्राथमिकता दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। लामो दूरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको छ।
सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत विदेशबाट स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग र सहजीकरण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सर्वसाधारणलाई पनि सतर्कता अपनाउन तथा कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।