भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय खर्चिनुपरेको छ ।
पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा किसान व्यस्त हुँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।

भोजपुर नगरपालिका–५ का किसान रुपनारायण फुयालले कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भित्र्याउन थाले पनि काम नसकिएको बताए ।

यही गतिमा काम गर्दा मङ्सिर दोस्रो सातासम्म धान भण्डारणमै व्यस्त हुनुपर्ने उनको भनाइ छ ।
किसानले खेतीपातीका लागि कामदार अभाव हुँदा धान भित्र्याउन ढिलाइ भएको बताएका छन् ।
धान काट्ने, बोक्ने, झाट्ने र भण्डारण गर्ने काममा बढी श्रम र समय लाग्ने भएकाले तिहारको रमाइलोमा समेत पर्याप्त समय दिन नपाएको उनीहरूको गुनासो छ ।