काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलले बिहीबार (कात्तिक २६) विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । काठमाडौंमा आफ्नो व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्य एउटै गाडी रिजर्भ गरी छठ पर्व मनाउन घर फर्कने क्रममा भएको दुर्घटनाले पार्टी स्तब्ध र मर्माहत बनेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–८, सुन्दरपुर टोलका आफन्तलाई एकैपटक शोकमा डुबाएको र पाँच परिवारका सदस्य गुमाउनुपरेको घटनाले गाउँ र समुदायमा अपूरणीय क्षति पुगेको रास्वपाले जनाएको छ । पार्टीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत एवं मानवीय सहयोग उपलब्ध गराउन पार्टीले सरकारसँग आग्रह गरेको छ ।
साथै, सरकार संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने र आउँदा दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नुपर्ने रास्वपाको माग छ ।