Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६ जना घाइते छन् । उक्त माइक्रोबसमा चालकसहित २० जना सवार रहेका खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार (कात्तिक २६) बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका १४ मध्ये ११ जनाको शव हेटौँडा अस्पतालमा ल्याइएको थियो । थप तीनजनाको शव दुर्घटनास्थल दिउँसो फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पछि शव फेला परेका तीनजनाको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा परी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपीकाकुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय रामदुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव, २७ वर्षीया पुनम यादवको मृत्यु भएको छ ।

यस्तै, सर्लाहीकै कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल (चालक)को पनि मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि हेटौँडा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तीनजनालाई थप उपचारका निम्ति चितवन ‘रिफर’ गरिएको छ ।

डिस्चार्ज हुनेमा चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन् ।

चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव छन् । उनीहरूमध्ये देवेन्द्रको अवस्था गम्भीर छ । अरू दुईजनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं