Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काे भारतमा दुईदिने राजकीय भ्रमण सुरू भएकाे छ । अहिले उनी नयाँ दिल्लीमा छन् ।

आइतबार दिउँसो काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवत्ता जगदिश खरेलले बिदाइ गरेका थिए ।

विगतका परम्परा तोड्दै प्रधानमन्त्री बालेनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी)मा ‘गार्ड अफ अनर’ (सम्मान गारत) तथा सलामी लिएनन् । उनले गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाको न्युयोर्क जाँदा पनि गार्ड अफ अनर लिएका थिएनन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमा काठमाडौंबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा आएका हुन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्य सचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत छन् ।

प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्लीस्थित इन्दिर गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा त्यहाँ उनलाई भारतका बाणिज्य तथा उद्योगमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री बालेन नयाँ दिल्ली पुगेलगत्तै भारतीय विदेश मन्त्रालयले यो भ्रमण दुई देशबीचको साझेदारीलाई सुदृढ पार्ने अवसर भएको जनाएको थियो ।

“यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ,” भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको थियो ।

प्रधानमन्त्री बालेन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सिधै आफू बस्ने होटल ताज महल पुगेका थिए । भारतका विदेशमन्त्री एस जयशंकरले होटल ताज महलमा आइतबार साँझ ६:१५ बजे प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्ता करिब २५ मिनेट भएको थियो ।

“नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ,” विदेशमन्त्रीले शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री बालेनको सचिवालयले आइतबार साँझ जारी गरेको प्रेस नोटमा भनिएको छ ।

उनीहरूबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो ।

प्रधानमन्त्री बालेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमाबार विहान ११:१५ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनालगायत क्षेत्रमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर सकिएपछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बालेन भारतीय प्रधानमन्त्री मोदीले उनको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् ।

दिवा भोजमा सहभागी भएपछि प्रधानन्त्री बालेनले सोमबार दिउँसो ३:३० बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री बालेन नयाँ दिल्लीबाट दिउँसो ४:५० बजे काठमाडौं प्रस्थान गर्नेछन् । उनी सोमबार साँझ ६:४५ बजेतिर काठमाडौं पुग्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं