Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडाैं । सुन तस्करीमा संलग्न बाराका इल्ताफ हुसेन अन्सारी र भारतको गुजरातदेखि आएको आपराधिक समूहले न्युरोडका एक कालिगढमार्फत १५ केजी चाँदीमा सुनजस्तो देखिने पहेंलो जलप लगाएको खुलेको छ ।

कमलपोखरी अपार्टमेन्टमा बसेर तस्करी र लुटपाटको योजना बनाएका अन्सारीले न्युरोडमा केही साताअघि नै मनिस मल्लिकमार्फत चाँदीमा जलप लगाएर पहेंलो धातु तयार पारेको पत्ता लागेको हो । शुक्रबार नियन्त्रणमा लिइएका मनिसले यसबारे प्रहरीलाई खुलासा गरेका थिए, उनी सोही दिन साँझ रिहा भएका छन् ।

सो धातु वीरगन्ज हुँदै गुजरातसम्म पुर्‍याउने योजना रहे पनि सूचना बीचमै चुहिएपछि अन्सारी मंगलबार सामान छोडेर सुन्धाराबाट भागेका थिए । प्रहरीले सोही ठाउँबाट १५ केजी पहेंलो धातु, ७ सय ५० ग्राम असली सुन र २ थान पेस्तोल बरामद गरेको थियो ।

‘वीरगन्ज वा भारततिरै सामान लगेर बेच्ने रणनीति रहेको अहिलेसम्मको अनुसन्धानबाट देखिन्छ तर बीचमै सूचना चुहिएपछि अन्सारीको योजना विफल भयो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘आफू पक्राउ परिने डरले सामान घुमुवा प्रहरीलाई दिएर ऊ फरार भएको हुन सक्छ ।’

महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई जना घुमुवा बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठले ‘सेटिङ’ मा अन्सारी, उनका सहयोगी सञ्जय पटेल र निलेश सखियालाई बा६च ५५१९ नम्बरको स्कार्पियो गाडीसँगै भगाएका थिए । घटनाको अघिल्लो दिन घुमुवाले लाजिम्पाटमा गरगहना सफाइ गर्ने पसल सञ्चालक कौशल पटेल र देवानसिंह पटेलमार्फत यसबारे सूचना पाइसकेका थिए । तर सामान नियन्त्रणमा लिएर प्रहरीमा बुझाउनेभन्दा कौशल, देवान र घुमुवा प्रहरीले लुटपाट गरेर बाँड्ने योजना बुने ।

अर्कातिर डीएसपी रञ्जन दाहाललाई घुमुवाले यसबारे सूचना पनि दिए । तर सूचना दिएको रुट एकातिर, अन्सारी वीरगन्ज जान लागेको रुट अर्कै बताउँदा अन्योल थपियो । घुमुवाले डीएसपी दाहाललाई नक्सालको होटल मेरियट नजिकैबाट अन्सारीको समूह हात्तीसार हुँदै सुन बोकेर जान लागेको सूचना दिएका थिए । त्यहीअनुसार दाहालले तत्कालै प्रहरी टोली खटाए । तर सूचना दिएभन्दा विपरीत अन्सारी र उनीसँगै रहेका अन्य दुई सहयोगी कमलपोखरी अपार्टमेन्टबाट सीटी सेन्टर–कृष्ण पाउरोटी–कमलादीबाट घण्टाघर हुँदै निस्किए ।

अन्सारीलाई प्रहरीले फेला पार्न सकेन । डीएसपी दाहाल अत्तालिँदै घुमुवालाई गाडी पिछा गर्न आदेश दिए । प्रसन्न र बहादुरसिंह गाडी पछ्याउँदै अघि बढे । तर गाडी नियन्त्रणमा लिनुभन्दा अन्सारीबाट सामान फुत्काएर गायब बनाउने रणनीति घुमुवाको थियो । घुमुवा प्रहरीलाई लेपन गरिएको नभई सक्कली सुन भन्ने सूचना आएको थियो ।

केही मिनेटमै सहिदगेट अगाडि गाडी रोकेर निलेश सखिया ओर्लिए । प्रसन्न र बहादुरसिंहलाई झोला दिएर अन्सारी र सञ्जय पटेलसँगै निलेश त्रिपुरेश्वर हुँदै भागे । गाडी अन्सारीले चलाएका थिए । बहादुरसिंहसँग भएको झोलाबाट प्रसन्नले एक केजीको बिस्कुट निकाल्न भ्याइसकेका थिए ।

झोला हात पारेका घुमुवाले यताउता हेर्दै गर्दा डीएसपी दाहाल आकासे पुल नजिकैको माइक्रो स्टेसन नजिक आइपुगे । ‘झोलामा के हो’ भनेर डीएसपीले सोधे । ‘बाटोमा सुन फ्याँकेर गाडी भाग्यो’ भनेर घुमुवाले भनेपछि डीएसपीले त्यहींबाट ‘मेट्रो कन्ट्रोल’मा गाडी नम्बर टिपाए ।

घुमुवासँग भएका अर्का व्यक्ति देखाउँदै ‘ऊ को हो’ भनेर सोधेपछि प्रसन्नले ‘सुराकी दिने मानिस उमेश श्रेष्ठ हो सर’ भनेर ढाँटे । प्रसन्नले केही समयअघि निकालेको एक केजी पहेंलो धातु सुराकी भनिएका उमेशलाई दिइसकेका थिए । उनी बागबजारमा मोबाइल पसल सञ्चालन गर्छन् ।

घुमुवासँग भएको सामानबारे डीएसपी दाहालले त्यहीँबाट महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई जानकारी गराए । ज्ञवालीले अनुसन्धानमा असर पुग्ने भन्दै सामान भेटिएको सक्कली ठाउँ कमलादी उल्लेख गर्न लगाए । तर घटनाको मुचुल्का भने सुन्धारा नै उल्लेख गरियो । स्थानीय जनप्रतिनिधि र जनसेवा प्रहरीलाई साक्षी राखेर मुचुल्कामा घटनास्थल सुन्धारा राखियो ।

सामान बोकेर त्यहीँबाट डीएसपी दाहाल परीक्षण गराउन सुनचाँदी व्यवसायी महासंघको कार्यालय पुगे । अनि मात्रै थाहा भयो, तस्करीको सामानमध्ये १५ केजी चाँदीमा लेपन गरिएको रहेछ, ७ सय ५० ग्राम सुन मात्र असली रहेछ । एसएसपी ज्ञवालीले त्यसको केहीबेरमा पत्रकार सम्मेलन गरेर कमलादीबाट सामान र हतियार बरामद गरिएको जानकारी दिए । तर प्रहरीले किन घटनास्थल ढाँट्यो भन्ने प्रश्न उठेको छ ।

पूर्वी नवलपरासी प्रहरीको सहयोगमा महानगरीय अपराध महाशाखाको टोलीले निलेश, देवान र अपार्टमेन्टका काम गर्न ल्याइएका विजय पटेललाई दुम्कीबासबाट पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा दुवै घुमुवा प्रहरी, कौशल र उमेश पक्राउ परे । तर घटनाका मुख्य योजनाकार अन्सारी र उनका सहयोगी सञ्जय पटेल फरार छन् ।

पछिल्लो अनुसन्धानअनुसार कौशलले घुमुवा प्रहरीलाई सूचना दिएर सामान अन्सारीबाट लुट्ने र त्यसबापत कौशलले घुमुवालाई १५ लाख दिने सहमति भएको थियो । त्यही कारण डीएसपी दाहाललाई घुमुवाले सही सूचना नदिई अन्सारी हिँड्ने रुट नै अन्यत्र देखाएको खुलेको छ । तर घुमुवा र लाजिम्पाटमा व्यापार गरी बस्ने पटेलबीच सेटिङ भत्किएपछि सबै योजना भताभुंग भएको स्रोत बताउँछ ।

घुमुवाले सके घटना लुकाउने, नसके सामान बरामद गरेर त्यसको कमिसन बाँड्ने, त्यो पनि योजना विफल भए सामान बरामद गरेर डीएसपीलाई बुझाएर काम देखाउने तीन वटा रणनीति अपनाएको बयान दिएका छन् ।

फरार भएका अन्सारी २०७२ जेठ ३० मा जाली नोट कारोबारको अभियोगमा सातदोबाटोबाट पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतले २०६७ जेठ २६ मा दोषी ठहर गर्दै अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार बिगो कायम गरेको थियो, फैसलाको ५ वर्षपछि पक्राउ परेका उनी कैद भुक्तान गरी छुटेका थिए । त्यसपछि उनी सुन तस्करीमा ‘सिफ्ट’ भएको प्रहरी उच्च स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा