मोरङमा हात धुने महाअभियानको औपचारिक थालनी

सबै घरधुरीलाई लक्षित गरी हात धुने अभियान सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध

Lite Nepal

शनिबार, आश्विन २४, २०७७

विराटनगर । मोरङ जिल्लामा साबुन पानीले हात धुने महाअभियानको औपचारिक थालनी गरिएको छ । मोरङको बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकाबाट अभियानको औपचारिक थालनी गरिएको हो ।

बेलबारी नगरपालिका ९ मा आयोजना गरिएको औपचारिक थालनी कार्यक्रममा शुक्रबार विहान ९ बजेर ९ मिनेट जाँदा, अपांगता भएका ९ जना बालबालिकाले साबुन पानीले हात धोएर अभियानको औपचारिक आरम्भ गर्नुभएको हो । मोरङ जिल्लामा विश्व हात धुने दिवस २०२० को अवसरमा एक लाख घरधुरीमा साबुन पानीले हात धुवाउने लक्ष्य लिइएको छ ।

यसैगरी, मोरङकै रतुवामाई नगरपालिका वडा नं. ७ मा रहेको स्वास्थ्य चौकीमा साबुन पानीले हात धोएर हात धुने अभियानको औपचारिक थालनी गरिएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, नगरपालिकाका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी, स्थानीय बासिन्दा लगायतले स्वास्थ्य सेवा केन्द्रहरु सफाइ गर्नुका साथै साबुन पानीले हात धोएर अभियानको औपचारिक थालनी गरिएको थियो ।

शुक्रबार औपचारिक थालनी गरेपछि अक्टुबर १० देखि १५ सम्म घरधुरीमा केन्द्रित भएर सबै घरधुरीमा अभियान सञ्चालन गरिने सरसफाइ अभियानका कार्यक्रम अधिकृत शर्मिला चौधरीले जानकारी दिए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था नारी विकास संघको सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेका स्थानमा साबुन पानीले हात धुने महाअभियान सञ्चालन गरिएको छ । यसैगरी, जहदा गाउँपालिकामा समेत शुक्रबार नै साबुन पानीले हात धुने महाअभियानको औपचारिक थालनी गरिएको छ ।

अपांगतामैत्री संरचना निर्माणमा जोड

यस वर्षको विश्व हात धुने दिवसको अवसरमा मोरङमा आयोजना गरिएको हात धुने महाअभियान फरक अवस्था र फरक क्षमतामा रहेका अर्थात् अपांगता भएका, सीमान्तकृत, वञ्चितीमा पारिएका र विकासको मूलप्रवाहीकरणमा समेटिन नसकेकाहरुप्रति समर्पित गरिएको छ । त्यसैले, हात धुने महाअभियानको औपचारिक थालनी अपांगता भएका व्यक्तिहरुबाट गरिएको छ ।

“फरक क्षमता र अवस्था भएका कोही पनि विकासको मूलप्रवाहीकरणबाट बाहिर नहोऊन् भन्ने हेतुले यस पटकको विश्व हात धुने दिवसमा फरक क्षमतालाई विशेष जोड दिइएको हो”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोद शर्माको भनाइ छ, “दिगो विकास लक्ष्यले समेत कोही छुट्न नहुने कुरामा जोड दिएको छ, जुन हामीले पूर्ण सरसफाइ अभियानमा समेत अवलम्वन गर्न खोजेका छौं ।”

अपांगतामैत्री संरचना नहुँदा घरपरिवार, कार्यालय, संघसंस्था, सार्वजनिक यातायात, शिक्षालय लगायतका स्थानमात्र होइन, कोभिडजस्ता संक्रामक महामारी र अन्य विपद्को समयमा अपांगता भएका व्यक्तिहरुले उपयुक्त हेरचाह र उपचार समेत पाउन नसकेको राष्ट्रिय अपांग महासंघ नेपालले जनाएको छ ।

दिगो विकास लक्ष्य नं. १० ले क्षमता र अवस्थाका आधारमा विकास र अवसरहरुमा हुने असमानताको न्यूनीकरणमा जोड दिएको छ भने कोही पनि नछुटून् भन्ने मान्यतामा आधारित रहेको छ । नेपालको संविधानले अपाांगता वा फरक क्षमता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको सरोकारको विषयको रुपमा किटान गरेको छ ।

“त्यसैले पनि, स्थानीय तहहरुले अगुवाइ गरेको हात धुने महाअभियानमा अपांगता भएका व्यक्तिहरुको सहभागितामा जोड दिइएको हो”, पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघका टोली प्रमुख हिमाांशु यादवको भनाइ छ, “सामाजिक आर्थिक रुपमा वञ्चितीमा पारिएका सीमान्तकृतहरुको सहभागितामा विशेष जोड दिइएको छ ।”

राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसंख्याको करिब २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ । पूर्ण सरसफाइ अभियानको क्रममा मोरङ जिल्लाका बेलबारी, जहदा, रंगेली र रतुवामाई नगरपालिकामा लिइएको घरधुरी विस्तृत तथ्यांक अनुसार ३.८६ प्रतिशतमा अपांगता रहेको छ ।

यसमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता (हिडडुल गर्न कठिन हुने) रहेको छ भने दृष्टिविहिन र बहिराको संख्या समेत करिब १० प्रतिशतको हाराहारीमा छ । तथ्यांक लिइएका २२ हजार ५ सय घरधुरीमध्ये ८ सय ६८ घरधुरीमा कुनै न कुनै किसिमको अपांगता भएका सदस्यहरु रहेका छन् ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको तथ्यांक अनुसार ती घरधुरीमध्ये १ सय ११ घरधुरीमा मात्र आफ्नो घरको अपांगता भएको सदस्यले सहजै प्रयोग गर्न मिल्ने शौचालय सुविधा रहेको छ ।

काठमाण्डौ विश्वविद्यालय, अपांगता अध्ययन केन्द्रको तथ्यांक अनुसार मोरङ जिल्लामा कूल जनसंख्याको १.७७ प्रतिशत अर्थात् १७ हजार ५३ जना कुनै न कुनै अपांगता भएका व्यक्तिहरु रहेका छन् । यसमध्ये ६ हजार २९ जना शारीरिक अपांगता भएका रहेका छन् ।

“खुल्ला दिसामुक्त अभियानका क्रममा कतिपय घरायसी चर्पीहरु अपाांगमैत्री नबन्दा त्यस परिवारमा अपांगता भएका सदस्यहरुले उचित प्रयोग गर्न नसकेको पाइएको छ”, पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको संस्था सामुदायिक विकास समाजका कायकारी निर्देशक गंगाप्रसाद यादव भन्नुहुन्छ, “त्यो गल्ती पूर्ण सरसफाइ अभियानका क्रममा नदोहोरियोस् भन्ने कुरामा सचेत छौं ।”

सबै स्थानीय तहमा जिल्लाको परिपत्र

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको शुक्रबारको बैठकले जिल्लाका सम्पूर्ण घरधुरीमा साबुन पानीले हात धुने सुविधाको विस्तारका लागि घरधुरी केन्द्रित भएर साबुन पानीले हात धुने अभियान सञ्चालन गर्न सम्पूर्ण गाउँ÷नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् समितिका अध्यक्ष नरेश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्व हात धुने दिवसको अवसरमा अक्टुबर १५ मा जिल्ला समन्वय समितिको प्रांगणमा साबुन पानीले हात धुने र जिल्लाभर अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका साझेदार संस्थाहरु नारी विकास संघ र सामुदायिक विकास समाज, यूनिसेफ नेपालका साझेदार संस्थाहरु पानी वातावरण र जीवन संस्था, फरेन विराटनगर र नेपाल रेडक्रस सोसाइटीले सरसफाइ र स्वच्छता प्रवद्र्धनका लागि भैरहेका क्रियाकलापको बारेमा जानकारी गराए ।

यसैबीच, प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टरका सदस्य संस्थाहरुको अनौपचारिक बैठकले प्रदेश नं. १ भर नै विश्व हात धुने दिवसको अवसरमा साबुन पानीले हात धुने अभ्यास गराउन र घरधुरी एवम् संस्थागत निकायहरुमा साबुन पानीले हात धुने निश्चित स्थानको व्यवस्था गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नका लागि सहयोग एवम् समन्वय गर्ने निर्णय गरेको छ ।

क्लस्टर सदस्य संस्थाहरुको बिहीबारको बैठकले सबै जिल्लाका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र जिल्ला तहका वास क्लस्टरसँगको समन्वयमा हात धुने अभियान सञ्चालन गर्ने निर्णय गरेको क्लस्टरका सहसंयोजक एवम् यू.एन. ह्याबिट्याटको जिल्ला संयोजक विनोद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा