Lite Nepal

शनिबार, फाल्गुण २०, २०७९

काठमाडौं – प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ ।

तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्छ कि गर्दैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ । खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया कति मात्रामा पिउँदा असर गर्दैन ? लगायत विषयमा पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

दूध मात्र खाँदा त समस्या हुँदैन ? तर त्यही दूधमा चिया मिश्रण गरेर पिउँदा किन पेटमा समस्या हुन्छ ?

बिहानको समयमा हाम्रो पेट खाली हुन्छ । खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।

खाली पेट लामो समय बस्दा ग्यास्ट्रिकको समस्या हुन्छ ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो । समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।

आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

कतिपयले बिहान दूध चिया पिउने गर्छन्, खाली पेटमा पनि । तर उनीहरूलाई त्यस्तो समस्या भएको हुँदैन नि ?

कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या हुने होइन ।

दूध चिया पिउँदा ठ्याक्कै हुने असर चाहिं के हो ?

दूध चिया पिउँदा पेट डम्म फुल्छ । दूध चिया धेरै पिउनाले भोक पनि कम हुन्छ । भोक कम लागेर समयमा खाना नखाएपछि पेटको एसिडिटी बढ्छ ।

दूध चिया कति मात्रामा पिउँदा चाहिं असर गर्दैन होला ?

दूध चिया पिएपछि पेट टन्न भएको महसुस हुन्छ । जसले गर्दा खाना रुच्दैन । त्यसैले यति मात्रामा भन्दा पनि थोरै मात्रामा सेवन गर्नु नै उपयुक्त हुन्छ ।

दूधको चिया स्वास्थ्यका लागि हानिकारक त होइन । तर यसको अत्यधिक सेवन गरेमा यसले स्वास्थ्यलाई हानि गर्न सक्छ । त्यसैले दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्छ ।

खाली पेटमा खानै नहुने कुरा के हो ?

खाली पेटमा जंकफुड, प्याकेट फुड, मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, धुम्रपान, मद्यपान, बढी चिल्लो स्याचुरेडेट बोसो भएको खाना नखानु उचित हुन्छ ।

ग्यास्ट्रिक भएकाले के कस्तो खानपान शैली अपनाउनु उचित हुन्छ ?

ग्यास्ट्रिकको समस्या भएकाले दैनिक कम्तीमा पनि चार पटक खाना खानुपर्छ । ग्यास्ट्रिकको समस्या भएकालाई पौष्टिक खानपिनको निकै महत्त्व हुन्छ ।

हरियो सागपात, सबै प्रकारका तरकारी र फलफूल ग्यास्ट्रिकका बिरामीको लागि महत्त्वपूर्ण खाना हुन् । कुनै खास किसिमका खानेकुरा खाँदा बिरामीलाई असर गर्छ भने त्यस्ता खानेकुरा खानुअघि चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ । मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, चिया, कफी सकेसम्म नखाँदा उचित हुन्छ ।

(डा. भण्डारीले ग्यास्ट्रोइन्टरलोजीमा एमडी गरेका छन् । हाल उनी नेपाल मेडिकल कलेज र हेल्पिङ ह्याण्ड्स अस्पतालमा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा