सुजता लिम्बू

सोमबार, माघ १९, २०८२

मोरङ । विराटनगर आउने जो–कोहीको मनमा एउटा जिज्ञासा उब्जिन्छ, ‘यहाँ पनि लिम्बूहरू छन् ?’
उत्तर खोज्न धेरै टाढा जानु पर्दैन। चासोक तङ्नामको समय संगठित रूपमा मनाइँदै गरेको पर्व, च्याब्रुङको तालमा गुन्जिएको वातावरण, र केलाङ नाच्दै गरेका युवाहरू देख्नेबित्तिकै उत्तर आफैँ प्रस्ट हुन्छ।

आफ्नो थातथलो छोडेर विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदाय यहाँ आफ्नो भाषा, संस्कार र संस्कृति जगेर्नामा उत्तिकै सक्रिय छन्। दक्षिणी बेल्ट अर्थात् विराटनगर–१६ जहाँ मधेसी समुदायको बाहुल्यता छ, त्यहीँ किराँत याक्थुङ चुम्लुङको आफ्नै भवन उभिएको छ।

त्यो भवनमा केवल इँटा र सिमेन्टको संरचना मात्रै भेटिँदैन लिम्बू समुदायको अस्तित्व र सांस्कृतिक निरन्तरताको प्रतीक पनि महसुस गर्न सकिन्छ । चाडपर्व होस् या सांस्कृतिक कार्यक्रम, च्याब्रुङको ताल यहाँ निरन्तर गुन्जिरहन्छ।

च्याब्रुङको तालमा आफ्नै कला थप्दै संस्कृतिलाई अझ सुन्दर बनाउने युवाहरूको जोस लोभलाग्दो छ। केलाङ (लिम्बू समुदायको परम्परागत नृत्य) नाचिरहेको समूहमा झट्ट हेर्दा लिम्बू अनुहार मात्र देखिँदैनन्।

फरक समुदायका अनुहारहरू पनि उस्तै उत्साहका साथ नाचिरहेका हुन्छन्। त्यही दृश्यले एउटा मीठो प्रश्न जन्माउँछ, ‘अरू समुदायका पनि हाम्रो नाचमा?’

‘म विष्टको छोरी, तर केलाङ मेरो मनको नाच हो ।’ मन्द मुस्कानसँगै गर्व मिसिएको स्वरमा उनी बोल्न सुरु गर्छिन्।
बुढीगंगाकी जेनिसा विष्ट केलाङ नाच समूहकी सक्रिय सदस्य हुन्। उनी हाँस्दै फेरी थप्छिन्, ‘मलाई धेरैले सोध्नुहुन्छ, विष्टको छोरी पनि लिम्बूको नाचमा?’

त्यो प्रश्न उनलाई अचम्म लाग्दैन, बरु झन् आफ्नो रोजाइप्रति गर्व महसुस हुन्छ। उसो त नाच सिक्दै जाँदा उनी समुदायको सीमाभन्दा माथि उठेर संस्कृतिसँग जोडिएकी छन्।

१० कक्षामा पढ्दै गर्दा गाउँकी ठूलोममी पर्ने तिर्थ लिम्बूले ‘केलाङ सिक्छ्यौ?’ भनेर सोधेको प्रश्नले नै उनलाई नाचतर्फ तानेको थियो । अहिले १२ कक्षामा अध्ययनरत जेनिसा चुम्लुङको कार्यक्रम होस् वा लिम्बू समुदायको विवाह, च्याब्रुङ नाच्न पुगिरहेकी हुन्छिन्।

जेनिसा विष्ट

‘यो नाच मलाई असाध्यै मन पर्छ। मन परेको कुरा सिकेँ, अब त पर्व, संस्कार र संस्कृतिसँगै भिजेकी छु,’ उनी भन्छिन्।
नाचेको बापत चुम्लुङले खर्चसमेत दिने गरेकोले आफू आत्मनिर्भर बन्दै गएको महसुस उनी सुनाउँछिन्।
विराटनगर–१६ का संकल्प श्रेष्ठ पनि च्याब्रुङ नाचमा रमाइरहेका छन्। नेवार समुदायमा जन्मे–हुर्केका उनी साथीहरूको आग्रहले यो नाचमा जोडिएका हुन्।

संकल्प श्रेष्ठ

‘साथीहरू लिम्बू थिए। उनीहरूले गर्दा मैले पनि सिकेँ। अहिले लाखे नाच र च्याब्रुङ दुवैमा उस्तै अपनत्व र रमाइलो लाग्छ,’ उनी भन्छन्।एक वर्षदेखि च्याब्रुङमा आबद्ध संकल्पले लिम्बू संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाउँछन्।

केलाङ नाच समूहको नेतृत्व गरिरहेका विराटनगर–१६ का मनाहाङ राई पाँच वर्षदेखि यही नाचमा सक्रिय छन्।चुम्लुङका तत्कालीन अध्यक्ष मनोज मेन्याङबोले प्रशिक्षण सुरु गर्दा सहभागी भएका उनी अहिले प्रशिक्षककै भूमिकामा छन्।

उनले कोसी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख चन्द्रकुबेर खापुङको कार्यकालमा प्रहरीहरूलाई समेत केलाङ नाचको प्रशिक्षण दिएका थिए। प्रहरी दिवसको अवसरमा कोसी प्रदेश टोलीले च्याब्रुङ नाचमा तेस्रो स्थान हासिल गरेको सम्झना सुनाउँदै उनी गर्व महसुस गर्छन्।
‘संस्कृति जातको सीमाभित्र थुनिनु हुँदैन। चुम्लुङले अरू समुदायलाई पनि स्थान दिएको छ, यही नै संस्कृतिलाई जोगाउने ठुलो कदम हो,’ उनी भन्छन्।

मनाहाङ राई

अहिले उनको टोलीमा २५ जना कलाकार सक्रिय छन्, फरक समुदाय, तर एउटै ताल। विराटनगरमा लिम्बू समुदायले आफ्नो संस्कृति जोगाउने प्रयास गरिरहँदा अर्को सुन्दर पाटो च्याब्रुङको तालले जात, थर, समुदायभन्दा माथि उठेर युवाहरूलाई एउटै घेरामा बाँधेको उनको बुझाइ छ ।

केलाङ नाच्दै विराटनगरका युवाहरु

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा