नयाँ शक्तिहरू ‘खहरेको बाढी’ मात्र
विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी निर्वाचनमा एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबी गरेका छन्।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शक्तिहरूको उदयलाई ‘अस्थायी लहर’ र ‘खहरेको बाढी’सँग तुलना गर्दै स्थापित दलको आधार बलियो रहेको बताए।
ढकालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई झापा–५ मा केपी शर्मा ओलीसँग चुनाव लडाउन खोजिएको विषयलाई लक्षित गर्दै यसलाई बालेनविरुद्धकै षड्यन्त्र हुनसक्ने टिप्पणी गरे।
ओलीसँग प्रतिस्पर्धा गराउनु भनेको बालेनलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भएको उनको भनाइ थियो।
रास्वपा लगायत नयाँ शक्तिहरूको प्रभाव सामाजिक सञ्जालसम्म सीमित रहने र दीर्घकालीन राजनीतिक स्थायित्व नहुने उनले जिकिर गरे।
एमालेको सांगठनिक मजबुतीका कारण प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्दै पहिलो पार्टी बन्ने र एकल बहुमतको सरकार बन्ने आधार तयार भएको ढकालको दाबी छ।
प्रचण्ड र ओलीबीचको फोन संवादलाई उनले सामान्य राजनीतिक प्रक्रिया मात्र भएको बताए।
