बिराटनगर। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन धादिङ जिल्लामा नेपाली सेना परिचालन गरिएको छ।
जिल्लाका विभिन्न संवेदनशील क्षेत्रलाई लक्षित गर्दै सेनाले ५ स्थानमा सुरक्षा बेस स्थापना गरेको छ भने जिल्ला कारागारमा समेत विशेष सुरक्षा ड्युटी लिएको छ।

जिल्लामा रहेका कुल ११४ मतदान स्थलमध्ये १०८ वटा अति संवेदनशील र ६ वटा संवेदनशील मतदान स्थल रहेको सुरक्षा मूल्याङ्कनपछि सेना परिचालन गरिएको हो।

सेनाले धुनिबेसी नगरपालिका, रुबी भ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका र नीलकण्ठ नगरपालिका क्षेत्रमा बेस राखेर सुरक्षा जिम्मेवारी सम्हालेको जनाएको छ।

त्यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ जिल्ला कारागार मा पनि सेना परिचालन गरी सुरक्षा सतर्कता बढाइएको छ।
धादिङ गजुरीस्थित भैरव गणका गणपति प्रमुख सेनानी असीम श्रेष्ठ ले निर्वाचन अवधिभर जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउन सेना परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

