सुजता लिम्बू

बुधबार, भाद्र २४, २०८३

विराटनगर । “आन्दोलनको मागप्रति हाम्रो समर्थन थियो । तर त्यही आन्दोलनको नाममा आफ्नै आँखाअगाडि भएको तोडफोड र आगजनीको दृश्य आज पनि बिर्सन सकेका छैनौँ,” गत वर्षको भदौ २४ गतेको घटना सम्झँदै भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर, विराटनगरका स्टोर प्रबन्धक पर्शुराम तिम्सिना भन्छन् ।

कतिपय विगत यस्ता हुन्छन्, जसलाई सम्झन नचाहँदा पनि मनले बिर्सन सक्दैन,  तिम्सिनाका लागि पनि भदौ २४ त्यस्तै दिन बन्यो ।

त्यति बेला देशका विभिन्न ठाउँमा जेन्जी पुस्ताको आन्दोलन चर्किरहेको थियो । भ्रष्टाचारको अन्त्य, सुशासन, जबाफदेहिता र परिवर्तनको मागसहित उठेको आवाजप्रति भाटभटेनीका कर्मचारीको पनि सहानुभूति थियो । अधिकांश कर्मचारी यही पुस्ताका भएकाले उनीहरूको भावनासँग व्यवस्थापन पनि अपरिचित थिएन । तर आन्दोलनले अप्रत्याशित मोड लियो ।

भदौ २३ गते काठमाडौंको बानेश्वरलगायतका क्षेत्रमा भएको गोली काण्ड र त्यसबाट भएको मानवीय क्षतिले देशभर आक्रोश बढाएको थियो । शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा वातावरण तनावपूर्ण बनिरहेको थियो ।

विराटनगरमा भने भदौ २४ गते बिहानसम्म अवस्था सामान्य थियो । कर्फ्यु वा निषेधाज्ञा लागू भएको थिएन । त्यसैले भाटभटेनीले पनि आन्दोलनका मागप्रति ऐक्यबद्धता जनाउँदै नियमित बिक्री वितरण बन्द गर्ने निर्णय गर्यो ।

“हामीले गेट बन्द गर्यौँ , कर्मचारीलाई भित्रै राखेर सरसफाइ, स्टक व्यवस्थापन र सामान मिलाउनेजस्ता आन्तरिक काम गरिरहेका थियौँ,” तिम्सिना सम्झन्छन्, “हाम्रो सोच सरल थियो माग जायज छ भने त्यसप्रति ऐक्यबद्धता जनाउनु हाम्रो पनि जिम्मेवारी हो ।”

दिउँसो करिब २ बजेसम्म बाहिरको अवस्था सामान्यजस्तै थियो । सडकमा मानिसको आवतजावत पनि भइरहेको थियो। तर करिब ३ बजेपछि वातावरण एकाएक बदलियो ।

केही मानिसको समूह भाटभटेनीतर्फ आउन थाल्यो । सडकबाटै ढुङ्गा प्रहार हुन थाल्यो । सिसा फुट्न थाले । कर्मचारीहरूले प्रतिकार गर्ने प्रयास गरेनन्। बरु बाहिर निस्किएर सम्झाउने प्रयास गरे।

“हामीले हात जोडेर अनुरोध ग¥यौँ,तोडफोड नगर्नुस्, आगजनी नगर्नुस् । यो आन्दोलनको मर्म होइन भनेर पटक–पटक भन्यौँ,” उनी भन्छन्।

उनीसहित भाटभाटेनीका कर्मचारीले केही समूहलाई सम्झाएर फर्काउन पनि सफल भए । तर भीड थपिँदै गयो । एकपछि अर्को समूह आउन थालेपछि स्थिति नियन्त्रणबाहिर पुग्यो । गेट तोडिन थाले, ढुङ्गा प्रहार भइरह्यो र अन्ततः भीड स्टोर परिसरभित्र प्रवेश गर्न थाल्यो ।

आफूले वर्षौँदेखि काम गरेको कार्यस्थल जोगाउन कर्मचारीहरूले सकेसम्म अनुरोध गरे । कसैको खुट्टा समातेर समेत रोक्न खोजे। तर उग्र भीडले उनीहरूको आग्रह सुनेन ।

“हामीले भन्न खोजेको कुरा यति मात्र थियो, भ्रष्टाचार र कुशासनविरुद्ध उठेको आन्दोलनको नाममा निजी सम्पत्ति तोडफोड गर्नु, लुटपाट गर्नु र आगो लगाउनु आन्दोलनको उद्देश्य हुन सक्दैन । यसले आन्दोलनकै मूल भावनालाई कमजोर बनाउँछ । तर हाम्रो कुरा सुनिएन,” तिम्सिना सुनाउँछन् ।

हेर्दाहेर्दै भाटभटेनीका गेटहरू तोडिए । भीड स्टोरभित्र प्रवेश ग¥यो । तोडफोड र लुटपाट बढ्दै गयो । स्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाका लागि सम्बन्धित निकायसँग तत्काल सहयोग मागिएको थियो ।

स्टोरमा रहेका अग्नि नियन्त्रणका उपकरणसमेत तोडफोड र आगजनीको चपेटामा परिसकेका थिए । बाहिरबाट तत्काल प्रभावकारी सहयोग प्राप्त हुन सकेन । आन्दोलनकारीको अवरोधका कारण आगो नियन्त्रणमा लिन थप कठिन भयो ।

“तत्काल सुरक्षा व्यवस्था गरिदिन अनुरोध गर्‍यौँ। तर अपेक्षित रूपमा सुरक्षा उपलब्ध हुन सकेन,” उनी भन्छन् । दिउँसो करिब ३ बजेदेखि साँझ ६ः४५ बजेसम्म कर्मचारीहरू आगजनी रोक्ने प्रयासमा लागिरहे। सम्झाउने, अनुरोध गर्ने र सम्भव भएसम्म रोक्ने प्रयास जारी रह्यो । तर साँझ पर्न थालेपछि अवस्था झन् भयावह बन्यो ।

गेटहरू लगभग पूर्ण रूपमा ध्वस्त भइसकेका थिए । ठुलो संख्यामा मानिस स्टोरभित्र प्रवेश गरिसकेका थिए । तोडफोड र लुटपाट तीव्र भइरहेका बेला अचानक आगो दन्कियो ।

“त्यो क्षण सम्झन आज पनि सहज छैन । वर्षौँदेखि काम गरेको ठाउँ आफ्नै आँखाअगाडि जलिरहेको थियो । दैनिक पसिना बगाएको कार्यस्थल आगोको लप्कामा थियो । रोक्ने इच्छा थियो, तर परिस्थिति हाम्रो क्षमताभन्दा धेरै बाहिर पुगिसकेको थियो,” तिम्सिना भन्छन्।

स्टोरमा रहेका अग्नि नियन्त्रणका उपकरणसमेत तोडफोड र आगजनीको चपेटामा परिसकेका थिए । बाहिरबाट तत्काल प्रभावकारी सहयोग प्राप्त हुन सकेन । आन्दोलनकारीको अवरोधका कारण आगो नियन्त्रणमा लिन थप कठिन भयो ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आउन पाँच दिन लागेको उनी सुनाउँछन् ।  उनी भन्छन्,“यसपछि भाटभटेनीको अवस्था हेर्दा एउटा प्रश्न उठ्थ्यो, अब यहाँबाट फेरि केही उठाउन सम्भव होलारु”

ठुलो संरचना, सामान, उपकरण र वर्षौँमा निर्माण भएको व्यावसायिक पूर्वाधार क्षणभरमै खरानीमा परिणत भएको थियो । तर भौतिक क्षतिभन्दा ठुलो पीडा त्यससँग जोडिएका मानिसहरूको थियो ।

उनको अनुसार विराटनगरको भाटभटेनीमा दुई सयभन्दा बढी कर्मचारी कार्यरत थिए । उनीहरूको रोजगारीसँग परिवारको भविष्य जोडिएको थियो । त्यसैले भवन मात्र जलेको थिएन, धेरै परिवारको चिन्ता पनि त्यससँगै जलेको थियो ।

यही कठिन समयमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले लिएको निर्णयले कर्मचारीमा नयाँ ऊर्जा थप्दिएको उनी सुनाउँछन् । उनी भन्छन्,“यति ठुलो क्षतिपछि पनि उनले पुनर्निर्माणको अठोट लिए । कर्मचारीको रोजगारी नजाने र सेवा–सुविधामा कटौती नहुने स्पष्ट सन्देश दिए ।”

त्यो निर्णय कर्मचारीका लागि केवल व्यवस्थापनको निर्णय नभएर  त्यसले उनीहरूलाई संस्थाप्रतिको जिम्मेवारी अझ गहिरो रूपमा महसुस गराएको उनको भनाइ छ ।

“हामीले बुझ्यौँ,अब पुनर्निर्माण व्यवस्थापनको मात्र जिम्मेवारी होइन, हाम्रो पनि जिम्मेवारी हो,” तिम्सिना भन्छन् ।“खरानी र भग्नावशेषबिचबाट पुनर्निर्माण सुरु भयो । निर्माण टोलीले तीव्र गतिमा काम अघि बढायो । कर्मचारीले आफ्नो ठाउँबाट सहयोग गरे । व्यवस्थापनले निरन्तर समन्वय ग¥यो । बिस्तारै भग्नावशेष हट्दै गए र नयाँ संरचना उठ्न थाल्यो ।”

केही समय अघिसम्म धुवाँ र खरानीले ढाकिएको ठाउँमा फेरि नयाँ स्वरूप देखिन थाल्दा कहिलेकाहीँ तितो विगत भुल्न सक्नु पनि ठुलो उपलब्धि रहेको उनको भनाइ छ।

देशमै लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र आफ्नो मेहनत तथा पसिनालाई यही माटोसँग जोड्ने अध्यक्ष गुरुङको अठोटले पनि कर्मचारीलाई प्रेरित गरेको बताउँदै उनले  संकटमा संस्था छाडेर पछि हट्नुको सट्टा अझ दृढ भएर अघि बढ्ने उनको निर्णयले कर्मचारीको मनोबल बढेको उनी बताउँछन् ।

“आज विराटनगरको भाटभटेनी फेरि उभिएको छ,  पहिलेभन्दा व्यवस्थित, आकर्षक र थप सेवा–सुविधासहित ग्राहकको सेवामा फर्किएको छ ।”उनी भन्छन् , “तर कर्मचारीका लागि यसको महत्त्व पुनर्निर्माण भएको भवनमा मात्र सीमित छैन । यो त्यही ठाउँ हो, जहाँ उनीहरूले विनाश देखे, असहायता भोगे र त्यसपछि फेरि उठ्ने साहस पनि देखे ।”

आन्दोलनको मर्म र राज्यको जिम्मेवारी

भदौ २४ को घटनालाई सम्झँदा आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र जबाफदेहीताका मुद्दाप्रति सकारात्मक धारणा अझै कायमै भए पनि  कुनै पनि जायज मागको आडमा निजी व्यवसाय, उद्योग वा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनीलाई उचित मान्न नसकिने उनको भनाइ छ ।

“आन्दोलनको उद्देश्य एउटा विषय हो, त्यसको नाममा हुने आपराधिक गतिविधि अर्को” उनी भन्छन्,“ त्यसैले यस्ता घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही हुनुपर्ने अपेक्षा छ ।”

भाटभटेनीजस्ता संस्थामा सयौँ मानिसको रोजगारी जोडिएको  हुने भएको यस्ता व्यवसायले प्रत्यक्ष रोजगारी मात्र होइन, आपूर्ति शृङ्खला, कर तथा समग्र अर्थतन्त्रमा समेत योगदान युर्याउने उनको भनाइ छ।

निजी क्षेत्रको लगानी असुरक्षित हुँदा त्यसको असर एउटा कम्पनीमा मात्र सीमित नहुने बताउँदै उनी भन्छन्,“रोजगारी, परिवार र अर्थतन्त्रसम्म पुग्छ ।” आन्दोलनको अधिकारको सम्मानसँगै निजी सम्पत्ति र लगानीको सुरक्षाको प्रत्याभूति पनि राज्यले दिन आवश्यक रहेको उनको भनाइ छ । कुनै पनि आन्दोलनको नाममा विध्वंसले प्रश्रय पाउने अवस्था सिर्जना हुन नहुने समेत उनी बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं