काठमाडौं । युक्रेनको पावलोह्राद सहरस्थित एक सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।
निप्रोपेत्रोव्स्क क्षेत्रको पावलोह्रादमा सर्वसाधारणको बाक्लो चहलपहल भइरहेका बेला आक्रमण भएको युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीले बताएका छन्। आक्रमणबाट सपिङ मलका पसल तथा आसपासका सवारीसाधनमा ठूलो क्षति पुगेको छ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार यसै साता जापोरिजिया र सुमीका दुई सपिङ मललाई पनि रुसी हवाई आक्रमणले निशाना बनाएको थियो।
यसैबीच, रुसले आफ्नो रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्री ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ। रुसी अधिकारीका अनुसार उक्त आक्रमणमा २८ जना घाइते भएका छन् भने अन्य युक्रेनी आक्रमणमा थप तीन जनाको मृत्यु भएको दाबी गरिएको छ।
रुस–युक्रेन युद्धमा पछिल्लो समय दुवै पक्षले ड्रोन तथा अन्य हवाई माध्यमबाट आक्रमण तीव्र बनाएका छन्। युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासले पनि अहिलेसम्म ठोस परिणाम दिन सकेका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै वार्ता गरे पनि युद्धविराम वा स्थायी शान्ति सम्झौताका विषयमा ठोस सहमति हुन सकेको छैन।