काठमाडौं । असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै फैलाइएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

असोज १७ गतेदेखि भीषण वर्षा हुने हल्लाबारे सर्वसाधारणले विभागमा सोधपुछ गरेपछि त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, ‘नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न तथा नफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ।’
विभागले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित अपडेट लिनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
