काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने तयारी गरिरहेको जनाएको छ। अमेरिकी एक अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार इरान नजिक तीनवटा विमानवाहक पोत (एयरक्राफ्ट क्यारियर) र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ।
अधिकारीका अनुसार अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब २ हजार अमेरिकी मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेका छन्। यो सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्ममा पूरा हुने बताइएको छ।

यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले स्ट्रेट अफ होर्मुज हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको जनाएको छ।

यूकेएमटीओका अनुसार होर्मुज जलडमरुको क्षेत्रमा भएको उक्त घटनामा करिब २५ लाख ब्यारेल तेल बोक्न सक्ने सुपरट्यांकरमा आगलागी भएको हो। घटनामा कसले र के प्रहार गरेको भन्नेबारे तत्काल पुष्टि हुन सकेको छैन।
घटनापछि जहाजको अवस्था तथा चालक दलको सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी छ। विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमा पछिल्ला वर्षहरूमा सैन्य तनाव र समुद्री सुरक्षासम्बन्धी घटनाहरू बढ्दै आएका छन्।