विराटनगर । कोशी प्रदेशमा राई भाषालाई पनि सरकारी कामकाजको भाषामा समेट्नुपर्ने माग राख्दै किरात राई यायोक्खाले आज (शनिवार) कोशी प्रदेशसभा घेराउ गरेकाे छ ।
विराटनगरमा जारी किरात राई यायोक्खाको महाधिवेशनमा भेला भएकाहरूले प्रदेशसभा जारी रहेको समयमा आज घेराउ गरेका हुन् ।

भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ तयार पारेको थियो । उक्त विधेयक प्रदेशसभाबाट पास गर्ने तयारी रहेकै समयमा यायोक्खाले राईको पनि भाषा समेट्नुपर्ने माग राख्दै प्रदेशसभा घेराउ गर्न लागेको हो ।

यो विधेयक पास गरेर महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पार्दै गत वर्ष नै कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा ल्याउने सरकारले तयारी गरेको थियो । तर, विधेयक अघि बढ्न सकेको थिएन ।

साथै किरात राई यायोक्खाले कोशी प्रदेशको नामाकरण पुनः गर्नुपर्ने माग समेत राख्दै आएको छ । आज प्रदेशसभा घेराउका क्रममा उक्त मागलाई पनि राख्ने तयारी गरेको स्रोतले बताएको छ ।

