Lite Nepal

सोमबार, कार्तिक ०३, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् ।

उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुन:निर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुन:निर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका हुन् । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताएका छन् ।

इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए । तर, युद्धको विरोध र तेलको मूल्य वृद्धिबीच उनी अप्रिलमा युद्ध विराम गर्न सहमत भएका थिए । इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबिच मतभेदसमेत देखिएको थियो । इरानी विदेश मन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताएका छन् ।

करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन् । यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेश मन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्केका थिए । न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उनी विवादमा पर्दै आएका छन् ।

चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं