Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काराक, जोर्डन । जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार भएको उक्त घटनापछि मुस्लिम बहुल जोर्डनमा शोक र आक्रोश फैलिएको छ।

प्रत्यक्षदर्शी तथा सुरक्षा अधिकारीहरूका अनुसार बन्दुकधारीहरू गाडीमा चढेर चर्च पुगेका थिए। उनीहरू चर्चभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएपछि फरार भएका थिए। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तीन जना बन्दुकधारी सडकबाट चर्चतर्फ जाँदै गरेको देखिएको बताइएको छ। उनीहरूको हातमा आधुनिक हतियारसमेत देखिन्छन्।

घटनाका बेला चर्चभित्र ठूलो भागदौड मच्चिएको थियो। प्रत्यक्षदर्शी खालिद अल-मदानतका अनुसार गोलीबारी करिब १५ मिनेटसम्म चलेको थियो। मानिसहरू ज्यान जोगाउन लुक्ने र भाग्ने प्रयास गरिरहेका थिए भने केहीले घाइते तथा मृत आफन्तलाई सम्हालिरहेका थिए।

जोर्डनका गृहमन्त्री माजेन अल-फरायाले आक्रमणकारीलाई चरमपन्थीहरूको समूहका रूपमा वर्णन गर्दै उनीहरूलाई पक्राउ गर्न सुरक्षा निकायले खोजी अभियान तीव्र पारेको बताएका छन्। राजा अब्दुल्ला द्वितीयले घटनामा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

आक्रमणमा मृत्यु हुनेको सङ्ख्याबारे सुरुमा फरक विवरण सार्वजनिक भए पनि पछिल्लो विवरणअनुसार मृतकको सङ्ख्या ७ पुगेको जनाइएको छ। लेबनानका राष्ट्रपति जोसेफ औनले घटनाको निन्दा गर्दै अन्त्येष्टिजस्तो पवित्र संस्कारका क्रममा भएको आक्रमणलाई जघन्य आतङ्ककारी कार्यको संज्ञा दिएका छन्।

काराक क्षेत्रमा ईसाई समुदायको उल्लेख्य बसोबास रहेकाले घटनाले स्थानीय बासिन्दा र पीडित परिवारमा गहिरो शोक र आक्रोश पैदा गरेको छ। आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं