महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ स्थित इमलिया क्षेत्रमा बस्ती नजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघलाई जङ्गलतर्फ धपाउन दुई वटा हात्ती परिचालन गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार उक्त क्षेत्रमा विगत चार–पाँच दिनदेखि लगातार बाघ देखिन थालेपछि स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाघको गतिविधि निगरानी गर्न क्षेत्रमा क्यामेरा जडान गरिएको थियो। “लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,” रेञ्जर चौधरीले भने, “गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ।”

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोस्टबाट परिचालन गरिएका हात्तीको सहायताले बाघलाई बस्तीको छेउबाट जङ्गलतर्फ धपाउने प्रयास भइरहेको चौधरीले बताए। उक्त क्षेत्रमा हात्तीसहित बेल्डाडी पोस्टबाट खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले पनि निगरानी गरिरहेका छन्।
बाघ उखुबारीमा रहेको सूचना प्राप्त भएको उल्लेख गर्दै चौधरीले उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको बताए। बाघको गतिविधि नियन्त्रणमा लिन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न निकुञ्जले निगरानी र सुरक्षासम्बन्धी कार्यलाई तीव्रता दिएको छ।