काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा आगामी बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद् उज्ज्वल उपाध्यायले बताएका छन्। चक्रवातको नाम बंगलादेशले प्रस्ताव गरेको हो।
उपाध्यायका अनुसार चक्रवातले मंगलबार भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा प्रभाव पार्ने र त्यसपछि उत्तरतर्फ अघि बढ्ने अनुमान गरिएको छ। बुधबार रातिसम्म नेपालमा यसको प्रभाव देखिन सक्ने उनले बताएका छन्।

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। चक्रवातको प्रभावले केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा व्यापक हिमपात हुन सक्ने उनको आकलन छ। सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविद् उपाध्यायले आग्रह गरेका छन्।

