बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले अहिलेसम्मकै ठूलो कारबाही गर्दै ३३ जना पार्टी सदस्यलाई निष्कासन गरेको छ । निष्कासितमध्ये १६ जना सेनासँग सम्बन्धित छन् । राष्ट्रपति सी चिनफिङको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान तीव्र बनिरहेका बेला यो कारबाही भएको हो । निष्कासित हुनेमा पूर्व वरिष्ठ सैनिक जनरल झाङ युस्या, लिउ झेनली र सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुईसमेत छन् ।
सन् २०१२ मा सत्तामा आएदेखि सीले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो शासनको प्रमुख अभियान बनाउँदै आएका छन् । यस अवधिमा दुई करोडभन्दा बढी व्यक्तिमाथि विभिन्न अनुशासनहीन गतिविधिमा कारबाही गरिएको पार्टीका अधिकारीले बताएका छन् ।

विश्लेषकहरूका अनुसार सीको भ्रष्टाचारविरोधी अभियान आर्थिक अनियमितता नियन्त्रणमा मात्र सीमित छैन । यसले पार्टीभित्र आफ्नो प्रभाव र सत्तामाथिको पकड बलियो बनाउने काम पनि गरेको छ । यसपटकको बैठकमा केन्द्रीय समितिका २७९ जना सदस्य मात्र सहभागी भएका थिए । सन् २०२२ मा कार्यकाल सुरु हुँदा ३७० भन्दा बढी सदस्य रहेको समितिमा अहिले ठूलो संख्यामा सदस्य हटाइनुले पार्टीभित्रको अस्थिरता र शक्ति संघर्षबारे प्रश्न उठाएको छ ।

विश्लेषकहरूका अनुसार सन् २०२७ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशनअघि सीले आफ्नो प्रभाव र नियन्त्रण थप बलियो बनाउन खोजिरहेका छन् । उनी चौथो कार्यकालका लागि पनि नेतृत्वमा रहने अनुमान गरिएको छ । तर, लामो समयसम्म एकै व्यक्तिमा शक्ति केन्द्रित हुँदा भविष्यमा चीनको राजनीतिक व्यवस्थामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने विश्लेषकहरूको चेतावनी छ ।