Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

ताप्लेजुङ । पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ । जिल्लाका प्रायः स्थानमा धान र कोदो पाकेर पहेँलपुर भएका छन् । तर, दुई दिनदेखिको वर्षाका कारण पाकेको बाली थन्क्याउन कठिन भएको किसानले बताएका छन् ।

सिरिजङ्घा गाउँपालिका–७ का किसान श्याम राईले पाकेको अन्नबाली थन्क्याउने समयमा वर्षा भएपछि चिन्ता बढेको बताए। “अहिलेसम्म हावाहुरी र असिना परेको छैन । तर, हावाहुरी चल्ने वा ठूलो वर्षा हुने हो भने धान ढल्ने र झर्ने समस्या हुन सक्छ भन्ने चिन्ता छ,” उनले भने ।

जिल्लाका अधिकांश किसानलाई यतिखेर अलैँची टिप्ने र सुकाउने चटारोसमेत छ । वर्षाका कारण अलैँची बगानमा काम गर्न पनि समस्या भएको किसानले बताएका छन् । अलैँची टिपिसकेका किसानलाई भने वर्षाले केही राहत दिएको छ । अलैँची टिपेपछि वर्षा हुँदा सिँचाइ हुने भएकाले बोट सुक्न र मर्नबाट जोगिने अलैँची किसान रश्मी आचार्यले बताइन् ।

बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण जिल्लाको मौसम दुई दिनदेखि प्रतिकूल बनेको छ । गए रातिदेखि जिल्लाभर वर्षा भइरहेको छ । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने वर्षा र हिमपातसँगै चिसोसमेत बढेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं