Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माण कार्यलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेका छन्।

एसियाली विकास बैंक (एडीबी) को वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। आयोजनाअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड निर्माणको ठेक्का इभ्रास्कन कालिका जेभीले पाएको छ।

निर्माणका क्रममा प्रभावकारी यातायात व्यवस्थापन हुन नसक्दा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोको समस्या बढेको छ। यसले दुर्घटनाको जोखिम बढाउनुका साथै यात्रु, यातायात व्यवसायी र सडक आसपासका स्थानीयवासीलाई सास्ती भएको गुनासो बढ्दै गएको छ।

यसैबीच, झापा क्षेत्र नं. २ की सांसद एवं प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख इन्दिरा रानामगरले आयोजना प्रतिनिधि, निर्माण व्यवसायी र ट्राफिक प्रहरीसँग छलफल गर्दै निर्माण कार्यलाई यात्रुमैत्री बनाउन आग्रह गरेकी छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, एसियाली राजमार्ग आयोजनाका इन्जिनियर आश्रय महत तथा निर्माण व्यवसायीको प्राविधिक टोलीसँग भएको छलफलमा सांसद रानामगरले आयोजनाको प्रगति, ट्राफिक व्यवस्थापन र यात्रुले भोगिरहेका समस्याबारे चासो राखेकी थिइन्।

छलफलका क्रममा आयोजना प्रतिनिधिले हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको जानकारी गराएका थिए। आगामी चार महिनाभित्र प्रगति ७० प्रतिशत पुर्‍याउने र चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्।

सांसद रानामगरले निर्माण कार्यलाई तीव्रता दिनुका साथै सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरेकी छन्। उनले धुलो तथा प्रदूषण नियन्त्रण र चाडपर्वका समयमा वैकल्पिक मार्गको नियमित मर्मतसम्भारमा समेत ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।

यसैगरी, उज्यालो नेपाल पार्टीले सडक निर्माणमा भइरहेको ढिलासुस्ती र अव्यवस्थाविरुद्ध दबाबमूलक अभियान सुरु गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यका अनुसार सडकमा खाल्डाखुल्डी, धुलो र हिलोको समस्या बढ्दा यातायात व्यवसायी, यात्रु तथा बजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।

पार्टीले सरकारी निकायको ध्यानाकर्षण गराउनुका साथै काँकडभिट्टामा सांकेतिक विरोध कार्यक्रमसमेत गरेको जनाएको छ। निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न, सुरक्षित यात्रालाई प्राथमिकता दिन र ठेक्का सम्झौतामा उल्लेखित यात्रुहितसम्बन्धी सर्त कार्यान्वयन गर्न पार्टीले माग गरेको छ।

ठेक्का सम्झौताअनुसार एसियाली राजमार्गको स्तरोन्नति विसं २०८३ माघ १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। विसं २०८० माघ १९ गतेदेखि सुरु भएको यस आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं