विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
सोमबार (आज) बिहान करिब ३ बजे २ वटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन् ।
प्रहरीका अनुसार यादव बा.१ च ५०३८ र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक हुन् ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै गाडीमा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।