ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आगामी मंसिर २१ गतेदेखि अन्तरपालिका फुटबल खेल आयोजना गर्ने भएको छ ।
पालिकाले स्थानीय तहमा खेल विकास गर्ने उदेश्यले फुटबल खेलको आयोजना गरेको जनाएको छ ।

गाउँपालिकाको आयोजनामा हुने सुनकोशी गाउँपालिका कप–२०८३ (अन्तर–पालिका पुरुष फुटबल प्रतियोगिता) हुनेछ । जिल्लाका स्थानीय तह, खेलाडी, खेलप्रेमीहरुलाई सहभागिताको लागि पालिकाले आग्रह गरेको छ ।

पालिकाले खेल मंसिर २१ देखि २४ सम्म मुलखर्क खेलमैदान हुने जनाएको छ । खेलमा सहभागिताका लागि एक टिमको दर्ता शुल्क १० हजार राखिएको छ । खेलमा सहभागी हुनेले बीमा शुल्क बापत १ हजार बुझाउनुपर्ने छ भने धरौटी २ हजार राखिएको छ । टिम दर्ताको समय मंसिर १८ गतेसम्म रहेको छ ।
टिममा १४ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक गरी जम्मा १६ जना रहने पालिकाले जनाएको छ । खेल फिफाको नियम अनुसार नियम अनुसार खेलाइने बताइएको छ ।
प्रत्येक नगर/गाउँपालिकाबाट १ टिम मात्र सहभागी हुन पाउनेछ । सहभागिताको लागि नगर/ गाउँपालिकाको पत्र र खेलाडीहरुको परिचय खुल्ने नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनु पर्नेछ र खेलाडी सम्बन्धित नगर/गाउँपालिकाको हुनुपर्ने नियम बनाइएको छ ।
खेल नक–आउट प्रणालीमा खेलाइनेछ । अन्य नियमहरु खेल सञ्चालन हुनु भन्दा अगाडी तथा खेल सञ्चालन भइरहेको समयमा जानकारी गराइने जनाइएको छ ।
खेलका विजेता नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेता नगद १ लाख ७७ हजार ७७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रत्येक टिमलाई नगद १ लाखसहित मेडल र प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।
उत्कृष्ट गोलकिपरलाई नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।