भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।
मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असोजमा भने रु २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ ।

काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा रु ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र रु ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।
पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ ।