सुनसरीमा छठ पर्वको तयारी पूरा

बाँसका पूजासामग्रीको व्यापार बढ्यो

Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

सुनसरी । छठ पर्वका अवसरमा सुनसरीमा बाँसको चोयाबाट निर्मित पूजासामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ ।

छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले यस पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।

रामधुनी नगरपालिका–५, झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीन–चार दिनमै तीन लाख रुपैयाँभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताए । उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरी बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा पर्याप्त सामग्री उपलब्ध नहुने भएकाले पहाडी क्षेत्र र भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।

अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताए । उनका अनुसार छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत हो । तिहार सकिएलगत्तै छठको चहलपहल सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए । आफैँले सामग्री उत्पादन गर्न नसकिने भएकाले भारतबाट खरिद गरी झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।

यसैबीच, छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशयका किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् ।

सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ तथा सजावट गरिएको छ । पूजास्थलमा दीप, रङ्गोली र बत्तीको व्यवस्था मिलाइएको छ ।

सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने परम्परा छ । पर्वलाई व्यवस्थित र भव्य बनाउन स्थानीयस्तरमा आवश्यक तयारीसमेत पूरा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं