सुनसरी । सुनसरी जिल्लामा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार, गएराति कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को.२२ प. १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ निवासी सञ्जय रिजाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।
इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेमध्ये नेपाल प्रहरीका हबल्दार रोहितकुमार राजवंशी पनि रहेका छन् ।
प्रहरीका अनुसार चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हबल्दार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेको सूचना अधिकारी खड्काले जानकारी दिए । प्रहरीले गरेको परीक्षणका क्रममा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको जनाएको छ ।