Lite Nepal

बुधबार, मंसिर ०९, २०८३

काठमाडौं । भारतको केन्द्र सरकारले तिब्बती आध्यात्मिक गुरु दलाई लामा र उनको कार्यालय ‘गादेन फोद्राङ’लाई नयाँ दिल्लीको लुटियन्स क्षेत्रमा ‘टाइप–७’ श्रेणीको सरकारी बंगला उपलब्ध गराएको छ ।

यसले दलाई लामाको राजधानी भ्रमणका क्रममा बसोबासका लागि स्थायी आधार प्रदान गर्ने बताइएको छ । निर्वासित तिब्बती संसद्का सदस्यहरूले मंगलबार यस कदमलाई दलाई लामा र तिब्बती समुदायप्रतिको भारतको समर्थनको महत्वपूर्ण संकेतका रूपमा स्वागत गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतका आवास तथा सहरी मामिला मन्त्रालयका अधिकारीहरूले यसबारे सोधिएका प्रश्नको आधिकारिक जवाफ दिएका छैनन् । यद्यपि, गत वर्ष प्राप्त अनुरोधपछि मन्त्रालयले पण्डित रविशंकर शुक्ला लेनस्थित उक्त बंगला विदेश मन्त्रालयलाई हस्तान्तरण गरेको बताइएको छ । घटनाक्रमबारे जानकार व्यक्तिहरूका अनुसार यस्ता सरकारी आवास सामान्यतया सुरुमा तीन वर्षका लागि उपलब्ध गराइन्छन् र आवश्यकताअनुसार म्याद थप गर्न सकिन्छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार निर्वासित तिब्बती संसद्की सभामुख डोल्मा छिरिङले यस घटनाक्रमलाई ‘निकै स्वागतयोग्य खबर’ बताएी छन् । उनले यस आवासले दलाई लामाको दिल्ली भ्रमण सहज बनाउनुका साथै राजधानीमा रहँदा थप सुविधा प्रदान गर्ने बताइन् ।

निर्णयको स्वागत गर्दै निर्वासित तिब्बती संसद्का सदस्य तथा स्थायी समिति सदस्य छोएदाक ग्यात्सोले भारतले तिब्बती समुदायलाई दिएको सहयोगको स्मरण गरेका छन् । उनले भने, “हामीसँग देश नहुँदा भारत सरकारले हामीलाई शरण दियो । हामीले आफ्नो देश गुमायौँ । भूमि नहुँदा भारतले हामीलाई धर्मशाला दियो । साथै, हाम्रो संस्कृति संरक्षण गर्न विद्यालय र विभिन्न संस्थाहरू स्थापना गर्न सहयोग गर्‍यो ।”

हालैको औपचारिक दिल्ली भ्रमणका क्रममा सांसदहरूसँग भेटघाट गरेको स्मरण गर्दै ग्यात्सोले आफूले तिब्बती उपसभामुखसँगै उक्त बंगलाको अवलोकन गरेको बताए । उनले यस अवसरलाई ठूलो सम्मानका रूपमा चित्रण गरे ।

दलाई लामाले सन् २०११ मा निर्वाचित तिब्बती नेतृत्वलाई राजनीतिक अधिकार हस्तान्तरण गरेपछि उनको कार्यालय ‘गादेन फोद्राङ’ भारतमा निजी ट्रस्टका रूपमा दर्ता गरिएको थियो । उक्त ट्रस्ट दलाई लामाको संस्थागत विरासतको संरक्षण गर्नुका साथै उनका आध्यात्मिक तथा मानवीय गतिविधिलाई सहयोग पुर्‍याउन जिम्मेवार छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं