काठमाडौं । पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै निलम्बन गरिएका एमाले ताप्लेजुङका दुई नेताको निलम्बन फुकुवा भएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष, कोशी प्रदेश सभाका पूर्व सदस्य तथा मन्त्री एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर पोमूको निलम्बन फुकुवा गरेको हो ।
प्रदेश कमिटीले गत मंसिर ११ गते पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै दुवै जनालाई निलम्बन गरेको थियो ।
१५ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएअनुसार दुवै नेताले आत्मआलोचनासहित चित्तबुझ्दो स्पष्टिकरण बुझाएको प्रदेश कमिटीको ठहर छ ।
सोही आधारमा गत पुस ९ गतेदेखि लागू हुने गरी दुवै नेताको निलम्बन फुकुवा गरिएको पत्र पठाइएको छ । तर उक्त पत्र माघ १० गते मात्र मणिशंकर पोमूको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।
अर्का नेता बलबहादुर साम्सोहाङले भने आफू हाल सामाजिक सञ्जालबाट टाढा रहेकाले पत्र सार्वजनिक भएको विषयमा जानकारी नभएको बताए ।

