विराटनगर ।६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भमा विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले दलित समुदायको न्यायमा पहुँचका लागि तत्काल ‘दलित अधिकार ऐन’ ल्याउन माग गरेका छन् ।
रिडोफ नेपालको आयोजनामा भएको दलित अधिकार ऐन, हाम्रो भूमिका र सरोकारवालाहरूसँग संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले राज्य संरचनाको प्रभावकारी परिचालन र सामाजिक दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै सांसद सपना परियारले दलित अधिकारका लागि प्रस्तावित विधेयक विगत ७ वर्षदेखि छलफलमै सीमित रहेको भन्दै आक्रोश व्यक्त गरिन । उनले, “यो आजको विषय होइन, अघिल्लो वर्ष नै तयार भएको विषय हो । सदनमा पटक-पटक कुरा उठाउँदा पनि सुनुवाइ भएन । सरकारले आर्थिक मामिला र बजेटको बहाना बनाएर ढिलाइ गरिरहेको छ । यदि सरकारले छिट्टै विधेयक दर्ता नगरे म आफैँ गैर-सरकारी विधेयकको रूपमा सदनमा दर्ता गराउनेछु ।”
त्यस्तै, प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले चेतनामूलक कार्यक्रम दलितलाई भन्दा पनि गैर-दलितलाई बढी आवश्यक रहेको बताए ।
“दलितभन्दा गैर-दलितहरू सुध्रिनु आवश्यक छ । सरकारले मीठो बोल्ने तर काम नगर्ने प्रवृत्ति त्याग्नुपर्छ,” उनले भने ।
प्रदेश सभा सदस्य सुनिता गुरुङले अन्तरजातीय विवाह र मधेसी दलितहरूले धर्मका नाममा अझै पनि गहिरो विभेद भोग्नुपरिरहेको उल्लेख गर्दै विभेदमुक्त समाजका लागि दलित र गैर-दलित दुवै मिलेर लाग्नुपर्ने बताइन्।
कार्यक्रमका अध्यक्ष तथा अभियन्ता उमेश विश्वकर्माले दलित आन्दोलन केवल दैनिक कार्यमा मात्र सीमित नभएर अब दबाबमूलक ढंगले अगाडि बढ्नुपर्ने बताए।
उनले भने, “हामीले बल प्रयोगको बाटो रोजेका छैनौँ, तर अब मान्छेको मनस्थितिमै परिवर्तन आउनुपर्छ । २८ लाख खर्च भयो भनेर ऐन ल्याउन ढिलाई गर्नु न्यायोचित होइन ।”
यस विषयमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले विधेयकको अन्तिम मस्यौदामा छलफल भइरहेको र यसलाई छिट्टै टुंगोमा पुर्याएर ऐनको रूप दिने प्रतिबद्धता व्यक्त गरे।
सहभागी वक्ताहरूले कर्णाली र मधेस प्रदेशमा दलित ऐन आइसकेको अवस्थामा कोशी प्रदेशमा ‘उच्च जातीय चिन्तन’का कारण ढिलाइ भएको आरोप समेत लगाएका थिए । “दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन” भन्ने मूल नाराका साथ सम्पन्न सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र दलित अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।
