Lite Nepal

बुधबार, बैशाख ०९, २०८३

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको उल्लेख गरेका छन्।

२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

स्टाटसमा उनले “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन” भन्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व अनिवार्य भएको उल्लेख गरेका छन्।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जेड आन्दोलनले पनि सार्वजनिक नेतृत्व स्वच्छ हुनुपर्ने सन्देश दिएको बताएका छन्।

गुरुङले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै पदमा रहँदा छानबिन प्रक्रियामा कुनै असर नपरोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारेका छन्।

स्टाटसको अन्त्यमा उनले सञ्चारकर्मी, नागरिक र युवाहरूसँग सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।

के थियो गुरुङको विवाद ?
गृहमन्त्री सुदन गुरुङमाथि विवादित व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपसँग जोडिएको व्यावसायिक साझेदारी र सम्पत्ति विवरणसम्बन्धी प्रश्नहरू सार्वजनिक भएपछि विवाद चुलिएको थियो । उनी गृहमन्त्री बनेको एक महिनाभन्दा कम समयमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायीहरूसँग सम्बन्धित लघुबीमा कम्पनीमा संस्थापक सेयरधनी रहेको विवरण बाहिरिएपछि यो विषयले राजनीतिक तथा प्रशासनिक वृत्तमा बहस सिर्जना गरेको थियो।

विचौलिया व्यापारीका नामले बदनामित दीपक भट्टको प्रभावमा अनुमति पाएको भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनीका रूपमा रहेका छन्। प्रारम्भिक सेयर लगत सूचीमा उनको नाम ४९औँ नम्बरमा उल्लेख भएको र करिब २५ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको देखिएको बताइएको छ। उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्स, जगदम्बा ग्रुप र शंकर ग्रुपसहितका व्यावसायिक समूहहरूको पनि लगानी रहेको छ, जसमध्ये केही समूहका व्यक्तिहरू हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा रहेका छन्।

तर, गृहमन्त्री गुरुङले पेश गरेको सम्पत्ति विवरणमा उक्त सेयर लगानी उल्लेख नभएको भन्दै पारदर्शिता र सार्वजनिक पद धारण गर्ने व्यक्तिको जवाफदेहितामाथि प्रश्न उठाइएको थियो। विवरणमा उनले अन्य सीमित व्यावसायिक संस्थामा मात्र संस्थापक सेयर रहेको उल्लेख गरेको जनाइएको थियो।

यसैबीच, जेनजी मुभमेन्ट नेपालले गृहमन्त्रीमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई पदबाट अलग गरिनुपर्ने माग गरेको थियो। आन्दोलनले सार्वजनिक पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै स्वार्थ द्वन्द्व टार्नुपर्ने धारणा अघि सारेको थियो।

उता, गृहमन्त्री आबद्ध राजनीतिक दलभित्र पनि यस विषयमा आन्तरिक छलफल तीव्र बनेको थियो। यसैबीच अन्ततः उनी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका हुन्।

नाताबाटको आरोप लागेसँगै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले पद त्याग्नु परेको सन्दर्भमा प्रमाणसहित नै बाहिर आएपछि गृहमन्त्रीलाई पदमुक्त गर्नुपर्ने दबाब सरकारलाई परेको थियो।

यसैबीच मन्त्रिपरिषद्को मंगलबारको मन्त्रिपरिषद बैठकमा पनि गुरुङको राजीनामाबारे विषयले प्रवेश पाएको थियो, जसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृहमन्त्रीले सोच्नुहुन्छ भन्ने शैलीको अभिव्यक्ति दिएसँगै के गर्छन् भन्ने विषयमा थप कौतुहलता जगाएको थियो।

यसैबीच मंगलबार (हिजो) राति मात्रै ११ बजेसम्म गृह मन्त्रालयमा कुनै विषयमा उच्च सुरक्षा अधिकारीसमेतको संलग्नतामा गम्भीर छलफल भएको थियो। त्यहाँ केही विषयमा महत्वपूर्ण कुरा भए पनि त्यसैबीच आज गृहमन्त्री गुरुङको राजीनामा आएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा